राष्ट्रियसभा अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौँ, २८ पुस – सरकारले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते आइतबार बिहान ११ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले सो जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले सन् २०२५ मार्चमा गएको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया (बौद्ध पगौडा) को अभिलेखालय तथा गङ्गाघाट मन्दिरको पुनःनिर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
त्यस्तै, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सदस्य राष्ट्रका रूपमा नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानस्वरूप अमेरिकी डलर दुई लाख ८३ हजार ५०३ प्रदान गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
बैठकले वित्तीय क्षेत्र रणनीति (२०८२/८३–२०८६/८७) तथा मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गरेको छ । साथै, गोरखापत्र संस्थानको अध्यक्षमा भक्तपुर निवासी गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिनुभयो ।

