निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी
काठमाडौँ, २८ पुसः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरिसकेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा शून्य सहनशीलता अपनाइने स्पष्ट पार्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका लागि आजदेखि सुरु भएको निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आचारसंहिता कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिनुभयो ।
उम्मेद्वारहरूले अरूले उल्लङ्घन गरे भन्दै आफैंले आचारसंहिता पालना नगर्ने प्रवृत्ति देखिएकाले त्यसतर्फ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
आयुक्तको संयोजकत्वमा रहेको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कडा रूपमा अनुगमन गरी आचारसंहिता पालना गराउने उहाँले जानकारी दिनुभयो ।
“२०७९ सालअघिको जस्तो उल्लङ्घनलाई छुट दिने अवस्था अब छैन,” कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो । आयोगको काँधमा निर्विकल्प रूपमा निर्वाचन सम्पन्न गराउने दायित्व रहेकाले त्यसको सामूहिक जिम्मेवारी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पनि हुने उहाँले स्पष्ट पार्नुभयो ।
निर्वाचन विथोल्ने कुनै पनि व्यक्तिलाई छुट नदिइने बताउँदै उहाँले निर्वाचन पर्यवेक्षकको समेत कडाइका साथ अनुगमन गर्न निर्देशन दिनुभयो । “विगतमा पर्यवेक्षकले उम्मेद्वारका पक्षमा गतिविधि गरेपछि कारबाही गर्दै अनुमति खारेज गरी देश निकाला गरिएको उदाहरण छ,” भन्दै उहाँले कानुन र आचारसंहिता विपरीत कार्य गरेमा तुरुन्त कारबाही गरी आयोगमा जानकारी गराउन आग्रह गर्नुभयो ।
कानुनको गलत व्याख्या गर्ने, निर्वाचन प्रक्रिया बिथोल्ने र कानुन उल्लङ्घन गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने उल्लेख गर्दै उहाँले न्यायिक क्षमता भएकै कारण मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको बताउनुभयो । परेका उजुरी समयमै किनारा लगाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
भङ्ग भएको अनुशासनलाई पुनः लयमा ल्याउँदै शान्ति स्थापना गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले सबैले आफ्नो दायित्व पूरा गर्नुपर्ने उहाँको भनाइ थियो । निर्वाचनका विषयहरू जटिल हुने भएकाले परिस्थितिको मूल्याङ्कन गर्दै निष्ठापूर्वक काम गर्न निर्देशन दिँदै उहाँले सफल निर्वाचनलाई आफ्नो प्रतिबद्धताको मापदण्ड बनाउन आग्रह गर्नुभयो ।
आयोगका अनुसार हाल माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट निर्वाचित हुने ११० तथा प्रत्यक्षतर्फ निर्वाचित १६५ सदस्यसम्बन्धी काम एकसाथ सञ्चालन भइरहेको छ । माघ २० गते समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्द सूची अन्तिम गरी नाम सार्वजनिक गरिने जनाइएको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले दुईदिने अभिमुखीकरण कार्यक्रममा चार समूह बनाएर छलफल गरिने जानकारी दिनुभयो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी करिब १२० जनाको सहभागिता रहेको छ ।
आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा विश्वसनीय निर्वाचन सम्पन्न गर्न अभिमुखीकरण कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनलाई थप व्यवस्थित र मर्यादित बनाउन कार्यक्रम आयोजना गरिएको जनाउँदै उहाँले यसबाट निर्वाचन अधिकृतहरूबीच समान बुझाइ विकसित हुने अपेक्षा व्यक्त गर्नुभयो ।

