प्रतिनिधिसभा निर्वाचन हुन ५२ दिन बाँकी: समानुपातिकतर्फको उम्मेदवारी आज अपराह्नसम्म फिर्ता लिन सकिने

काठमाडौँ, २८ पुस – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार राजनीतिक दलले यही पुस १३ र १४ गते पेस गरेका बन्दसूचीमा समावेश उम्मेदवारहरूले आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था गरिएको हो ।

आयोगले सम्बन्धित सबै उम्मेदवारलाई यसबारे जानकारी गराइसकेको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारी फिर्ता लिन सकिनेछ ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ । कुनै कारणले उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने आयोगले जनाएको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना सदस्य निर्वाचित हुने व्यवस्था छ ।

Facebook Comments Box