रास्वपा–उज्यालो नेपाल एकता १२ दिनमै भंग
काठमाडौं, २६ पुस – पुराना राजनीतिक शक्तिलाई चुनौती दिँदै नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यसहित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता १२ दिनमै टुटेको छ । पद, भूमिका र नेतृत्व बाँडफाँडमा सहमति नजुट्दा दुई दलबीचको एकता अल्पकालीन बनेको हो ।
सार्वजनिक रूपमा सैद्धान्तिक असहमति र प्रक्रियागत समस्या भनिए पनि सहमतिभित्र व्यक्तिकेन्द्रित समझदारी, अस्पष्ट शक्ति सन्तुलन र नेतृत्व वर्चस्वको द्वन्द्व सुरुदेखि नै देखिएको थियो । भदौ २३ र २४ को जेनजी आन्दोलन, भ्रष्टाचारविरोध, सुशासन र मेरिटोक्रेसीलाई आधार बनाएर दुई दलबीच सात बुँदे सहमति भएको थियो ।
सहमतिमा ‘सबै परिवर्तनकामी शक्तिहरूको सहकार्यबाट नयाँ राजनीतिक शक्ति निर्माण’को घोषणा गरिए पनि व्यवहारमा नेतृत्व संरचना पहिल्यै तय गरिएको थियो । यसले उज्यालो नेपाललाई बराबरीको साझेदारभन्दा समाहित हुने पक्षका रूपमा सीमित गरेको भन्दै असन्तुष्टि बढ्दै गयो ।
नेतृत्व र पद बाँडफाँडमै विवाद
सहमतिको चौथो बुँदामा एकतापछि पनि रास्वपाका सभापति रवि लामिछाने नै रहने र कुलमान घिसिङसहित डीपी अर्याल र स्वर्णिम वाग्ले उपसभापति रहने उल्लेख थियो । तर उपसभापतिहरूको हैसियत, महामन्त्री पद, केन्द्रीय समिति सदस्य संख्या र समानुपातिक उम्मेदवार छनोटमा सहमति जुट्न सकेन ।
उज्यालो नेपाल पक्षले उपसभापतिसँगै महामन्त्री पदको माग गरेको थियो भने केन्द्रीय समितिमा २१ सदस्य सुनिश्चित गर्नुपर्ने अडान राखेको थियो । तर ती मागहरू स्वीकार नभएपछि असन्तुष्टि चुलिँदै गयो । समानुपातिक सूचीमा पनि उज्यालो नेपालले मागेअनुसार प्रतिनिधित्व नपाएको गुनासो थियो ।
सहमतिको पाँचौँ बुँदामा योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने भनिए पनि व्यवहारमा त्यसको कार्यान्वयन नदेखिएको उज्यालो नेपालका नेताहरूको भनाइ छ । आफूहरूलाई केवल सहयोगीका रूपमा मात्र हेरिएको अनुभूति भएपछि एकता संकटमा परेको उनीहरूको आरोप छ ।
राजनीतिक भूमिकाबारे असमझदारी
रास्वपासँगको एकतापछि उपसभापति बन्ने समझदारी हुँदा कुलमान घिसिङमाथि मन्त्री पदमा बसिरहन नैतिक दबाब सिर्जना भएको थियो । उनले यसबीच मन्त्री पदबाट राजीनामा दिएर पार्टी समायोजनबारे छलफल गरे पनि सम्मानजनक भूमिका नदेखेपछि अलग हुने निर्णयमा पुगेको उज्यालो नेपाल पक्षको भनाइ छ ।
यसबीच बालेन्द्र शाह समूह पहिल्यै रास्वपामा समाहित भइसकेको र उनलाई प्रधानमन्त्री बनाउने सहमति भइसकेकाले आफ्नो भूमिका सीमित हुने निष्कर्षमा कुलमान पुगेको बुझाइ उज्यालो नेपाल नेताहरूको छ ।
सहमतिको अर्को विवादास्पद पक्ष पार्टीको नाम, झण्डा र चुनाव चिन्ह रास्वपाकै रहने व्यवस्था थियो । यसले उज्यालो नेपालको पहिचान जोगिने सुनिश्चितता नदिएको भन्दै पार्टी विलयको सन्देश गएको उनीहरूको ठम्याइ छ ।
पार्टी सञ्चालन, निर्णय प्रक्रिया, सार्वजनिक अभिव्यक्ति र संगठन विस्तारमा मतभेद सतहमा आउँदै गएपछि अन्ततः एकता भंग भयो । अब उज्यालो नेपाल पार्टीलाई पुनः स्वतन्त्र रूपमा अघि बढाउने र कुलमान घिसिङ अध्यक्ष बन्ने तयारी गरिएको छ ।
जेनजी आन्दोलनको पारदर्शिता, जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको नारासहित भएको यो एकता व्यक्ति र पद केन्द्रित बनेको आरोपसहित टुटेको छ । यस घटनाले नेपालमा नयाँ राजनीतिक शक्ति निर्माण केवल नाराले सम्भव नहुने, स्पष्ट संरचना, लोकतान्त्रिक अभ्यास र शक्ति सन्तुलन अपरिहार्य हुने सन्देश दिएको छ ।
रास्वपा–उज्यालो नेपाल एकता भंगसँगै एउटा प्रश्न पुनः उठेको छ— नयाँ भनिएका राजनीतिक शक्तिहरू साँच्चै नयाँ संस्कार बोकेका छन् कि पुरानै शैलीलाई नयाँ आवरणमा प्रस्तुत गरिरहेका मात्र हुन् ?

