किवी बिक्री नभएपछि जुस उत्पादनतर्फ महिला उद्यमी
बागलुङ, २५ पुस – ताराखोला गाउँपालिकाका महिलाले बजार अभावका कारण बिक्री हुन नसकेको किवीबाट जुस उत्पादन सुरु गरेका छन् । उत्पादन धेरै भए पनि बजार नपाउँदा लाखौँ रुपैयाँ बराबरको किवी खेर जाने अवस्था आएपछि उनीहरू प्रशोधनतर्फ लागेका हुन् ।
ताराखोला गाउँपालिका–३ हिलगाउँस्थित पँधेराखोला अस्तुरी कृषि समूहका महिलाले पाँच वर्षअघि उच्च मूल्य पाइने आशामा बारीभरि किवी खेती थालेका थिए । दुई वर्षयता किवी लटरम्म फल्न थाले पनि अपेक्षाअनुसारको बजार र मूल्य नपाउँदा समस्या देखिएको समूहकी सदस्य देउकुमारी रोकामगरले बताउनुभयो ।
“उत्पादन राम्रो भए पनि माग नआउँदा चिन्तामा थियौँ,” उहाँले भन्नुभयो, “नजिकका गलकोट, बागलुङलगायत बजारमा सामान्य मात्रामा पठाइरहेका छौँ, तर सबै किवी खपत हुन सकेको छैन ।” यस वर्ष मात्र समूहले एक हजारभन्दा बढी बोतल किवी जुस उत्पादन गरिसकेको छ । दुई सय ५० मिलिलिटर र आधा लिटरका बोतलमा प्याकेजिङ गरी जुस बजारमा ल्याइएको रोकामगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार किवीको माग र मूल्य राम्रो हुने सुनेर ठूलो लगानीमा खेती सुरु गरिएको भए पनि हाल सोचेजस्तो परिणाम नआएको बताउनुभयो । “उचित मूल्य नपाउँदा जुस उत्पादन सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “अहिले परीक्षणकै चरणमा छौँ, बजार सुनिश्चित भए जीविकोपार्जन सहज हुने थियो ।”
समूहकी कोषाध्यक्ष भवी रोकामगरका अनुसार सिङगुजी कृषि उपज प्रशोधन केन्द्रमार्फत किवी जुस उत्पादन भइरहेको छ । ताराखोला गाउँपालिकाले सात दिने तालिम दिएपछि महिलाहरू प्रशोधन कार्यमा लागेका हुन् । “उत्पादनभन्दा पनि बजारीकरण ठूलो चुनौती बनेको छ,” उहाँले भन्नुभयो, “स्थानीय सरकारको थप सहयोग आवश्यक छ ।” अहिलेसम्म समूहले दशौँ लाख रुपैयाँ लगानी गरिसकेको उहाँको भनाइ छ ।
स्वास्थ्यका लागि उपयोगी मानिने किवी जुसलाई अधिकतम १८ महिनासम्म भण्डारण गर्न मिल्ने गरी प्राविधिक व्यवस्था गरिएको छ । ताराखोला गाउँपालिकाले रु तीन लाख लागतमा जुस पेल्ने मेसिन उपलब्ध गराएको गाउँपालिका अध्यक्ष धनबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार ताराखोलामा किवी खेतीको ठूलो सम्भावना रहेकाले किसानलाई उत्पादन र प्रशोधन दुवैतर्फ प्रोत्साहन गर्दै आइएको छ ।

