आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
काठमाडौँ, २४ पुस – नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोही योजनाअनुसार सेनाको परिचालन हुनेछ।
“निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाले मार्गदर्शन गरेअनुसार निर्वाचनको करिब एक महिना अघिदेखि फिल्डमा सेना परिचालन हुनेछ,” प्रवक्ता बस्नेतले बताउनुभयो।
एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन भइसकेको छ भने सेनाको परिचालनसम्बन्धी निर्णय राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भएको छ। निर्वाचनका क्रममा सेनाले तीन चरणमा सुरक्षा जिम्मेवारी निर्वाह गर्नेछ। निर्वाचनपूर्व चरणमा मतपत्र छपाइको सुरक्षा तथा महत्वपूर्ण संरचनाको संरक्षण सेनाको मुख्य जिम्मेवारी रहनेछ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय तथा सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेनाले चारै सुरक्षा निकाय तथा जिल्ला प्रशासनसँग समन्वय गर्दै तल्लो तहसम्म एकीकृत तालिम र अभ्यास सञ्चालन गर्ने जनाएको छ।
मतदानका दिन निर्वाचनस्थल तथा केन्द्रमा खटिँदा नेपाली सेना तेस्रो घेरामा रहनेछ। यस क्रममा राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा संलग्न कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाइने सेनाले जनाएको छ।
विगतमा जस्तै आगामी निर्वाचनलाई लक्षित गरी देशका विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गर्ने तयारीसमेत गरिएको छ। फागुन २१ गते मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी पनि सेनाले बहन गर्नेछ।
निर्वाचन तोकिएको मितिमा भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले हाल प्रदेशस्तरमा सुरक्षा गोष्ठी सञ्चालन भइरहेका छन्। गोष्ठीबाट प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी सरकारले थप सुरक्षा प्रबन्ध मिलाउने सेनाले जनाएको छ।
सबै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा जनप्रतिनिधिबीचको समन्वय र सहकार्यमा निर्वाचन सुरक्षा राज्यको प्राथमिक कार्यभार भएकाले त्यसका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको नेपाली सेनाको भनाइ छ।

