पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको स्थान हद फुकुवा
काठमाडौँ, २१ पुस – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ ।
गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगले उहाँमाथि लगाइएको विदेश भ्रमणमा रोक तथा आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था हटाएको हो ।
आयोगको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार, ती घटनासम्बन्धी प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका काम–कारबाहीबारे सोधपुछको कार्य सम्पन्न भइसकेकाले स्थान हद फुकुवा गरिएको हो ।
आयोगको निर्णयमा भनिएको छ, “भदौ २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझका क्रममा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई असोज १२ गतेको बैठकबाट विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय गरिएको थियो ।
ती घटनासम्बन्धमा उहाँसँग आवश्यक सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उक्त निर्णयको औचित्य समाप्त भएको ठहर गर्दै फुकुवा गरिएको छ ।”
आयोगको टोलीले आइतबार ललितपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा पुगेर बयान लिएको थियो । सो क्रममा अध्यक्ष ओलीले आयोगलाई लिखित वक्तव्यसमेत बुझाउनुभएको थियो ।
यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । प्रवक्ता शर्माका अनुसार चारवटै सुरक्षा निकायका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुखलगायत विभिन्न व्यक्तिसँग बयान लिने कार्य सम्पन्न भइसकेको छ ।
“बयान लिने काम लगभग अन्तिम चरणमा पुगेको छ । आयोग तीव्र गतिमा काम गरिरहेको छ,” प्रवक्ता शर्माले भन्नुभयो, “जेनजी आन्दोलनसँग प्रत्यक्ष सरोकार भएका तथा अन्य सम्बन्धित व्यक्तिसँग भेटघाट गरी विवरण सङ्कलन गरिएको छ ।” आयोगको कार्यदेशअनुसार तोकिएको तीन महिनाको अवधि समाप्त भएपछि थप एक महिनाको समयावधि प्रदान गरिएको छ ।

