मन्त्रिपरिषद् बैठकः जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान

काठमाडौँ, २१ पुस – सरकारले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले उक्त जानकारी दिनुभयो । उहाँका अनुसार सहिद परिवारको हितलाई ध्यानमा राख्दै समाजमार्फत विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्न अनुदान प्रदान गरिनेछ ।

बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गरेको छ भने नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र (एमओयु) पनि स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२ र वन तेस्रो संशोधन नियमावली–२०८२ स्वीकृत गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ उपमहालेखापरीक्षकमा घनश्याम पराजुलीलाई बढुवा गरिएको छ ।

यसैबीच, समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Facebook Comments Box