जाडो बढेसँगै टाउको दुखाइका बिरामी बढे
विराटनगर, २१ पुस – तराई क्षेत्रमा चिसो बढेसँगै टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या वृद्धि भएको छ। चिसो हावा, तापक्रममा आएको अचानक परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँधका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकहरूले बताएका छन्।
कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमा प्रत्यक्ष असर पार्ने भएकाले यस समयमा टाउको दुखाइका बिरामी बढ्दै गएका छन्। “जाडोमा शरीरको तापक्रम घट्दा रक्तनली सङ्कुचित हुन्छन्, जसले टाउकोतर्फ जाने रक्तप्रवाह कम गर्छ,” डा. खड्काले भन्नुभयो, “यसका कारण धेरैले टाउको भारी भएको, च्यापिएको जस्तो भएको वा निरन्तर दुखाइ महसुस गर्छन्।”
उहाँका अनुसार जाडो मौसममा टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) हो। “जाडोमा तिर्खा कम लाग्ने भएकाले मानिसले पानी कम पिउँछन्, तर शरीरलाई पानीको आवश्यकता जाडोमा पनि उत्तिकै हुन्छ,” उहाँले भन्नुभयो, “पानीको कमी हुँदा टाउको दुखाइ पहिलो सङ्केतका रूपमा देखिन सक्छ।”
चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा असर पार्दा टाउको पछाडिबाट सुरु भएर अगाडितर्फ फैलिने दुखाइ देखिने चिकित्सकहरूको अनुभव छ। विशेषगरी मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, चिसोमा सुत्ने तथा लामो समय एउटै आसनमा बस्ने व्यक्तिमा यस्तो समस्या बढी देखिने डा. खड्काले बताउनुभयो। “यसलाई समयमै ध्यान नदिए दीर्घरूप लिन सक्छ,” उहाँको भनाइ छ।
त्यसैगरी जाडो मौसममा नाक बन्द हुने, अनुहार भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने समस्या पनि बढ्ने गर्छ। साइनस सङ्क्रमण वा एलर्जी भएका व्यक्तिमा समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र कहिलेकाहीँ जटिल अवस्था समेत आउन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।
माइग्रेनका बिरामी पनि जाडो मौसममा बढी प्रभावित हुने गरेका छन्। तापक्रमको अचानक परिवर्तन, चिसो हावा, निन्द्राको गडबडी तथा मानसिक तनावले माइग्रेन ट्रिगर गर्ने चिकित्सकहरू बताउँछन्। “माइग्रेन हुँदा एकातर्फ मात्र टाउको दुख्ने, बान्ता आउने तथा उज्यालो र आवाज सहन नसक्ने लक्षण देखिन्छ,” डा. खड्काले भन्नुभयो, “जाडो मौसम माइग्रेनका बिरामीका लागि संवेदनशील समय हो।”
चिकित्सकका अनुसार जाडोमा घाम कम ताप्दा भिटामिन ‘डी’को कमी हुने र यसले मांसपेशी दुखाइ, थकान तथा टाउको दुखाइलाई थप बढाउने गर्दछ। उच्च रक्तचाप भएका व्यक्ति, दीर्घरोगी, वृद्धवृद्धा तथा लामो समय मोबाइल र कम्प्युटर प्रयोग गर्नेहरू जाडो मौसममा उच्च जोखिममा पर्छन्।
डा. खड्काले सामान्य टाउको दुखाइलाई बेवास्ता नगर्न आग्रह गर्दै भन्नुभयो, “बारम्बार टाउको दुख्ने, औषधि खाँदा पनि निको नहुने, दृष्टि धमिलो हुने, बान्ता आउने वा ज्वरोसँगै टाउको दुख्ने लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको परामर्श लिनुपर्छ।”
टाउको दुखाइबाट बच्न पर्याप्त पानी पिउने, न्यानो कपडा लगाएर घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने तथा घाँटी र काँधको हल्का व्यायाम गर्ने सुझाव चिकित्सकहरूले दिएका छन्। जाडो मौसममा सानो लापरबाहीले पनि स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले दैनिक जीवनशैलीमा सचेतता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।

