जङ्गली हात्ती गाउँ पस्दा झापामा तीन घरसहित लाखौँको क्षति

झापा, १८ पुस – जङ्गली हात्तीको बथान गाउँमा प्रवेश गर्दा झापाका विभिन्न स्थानमा बिहीबार एकै दिन तीनवटा घरमा क्षति पुगेको छ भने अन्नबाली तथा भौतिक सम्पत्तिमा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार कमल गाउँपालिका–३ बगाले टोलका गणेश बस्नेत, भद्रपुर नगरपालिका–७ डाँफे चोकका ऋषि भट्टराई र बिर्तामोड नगरपालिका–८ किसनभिट्टाका टङ्क बराइलीको घरमा हात्तीले क्षति पुर्‍याएको हो।

कमल–३ का गणेश बस्नेतको टिनको छानो भएको घरमा रातिको समयमा तीनवटा हात्ती पसेर मूलघर आंशिक र भान्साघर पूर्ण रूपमा भत्काएका थिए। हात्तीले चार मन धान र चार मन मकैको पीठो खाइदिएको र लत्ताकपडा, भाडावर्तन तथा फर्निचरसहित करिब रु एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। यस्तै, भद्रपुर–७ का ऋषि भट्टराईको एकतले पक्की घरको भान्साघर भत्किँदा रु २२ हजार बराबरको क्षति भएको छ।

बिर्तामोड–८ का टङ्क बराइलीको टिनको छानो भएको एकतले कच्ची घरको टाटी भत्काएर हात्ती भण्डार कोठामा पसेको र त्यहाँ रहेको आठ क्विन्टल धान तथा एक क्विन्टल चामल खाइदिएको प्रहरीले जनाएको छ। उक्त घटनामा रु ४५ हजार बराबरको क्षति भएको छ। जङ्गली हात्तीको आवतजावत बढेसँगै सीमावर्ती बस्तीका बासिन्दा त्रसित बनेका छन्।

Facebook Comments Box