समानुपातिक बन्दसूची पुनरावलोकन हुन्छ : सभापति लामिछाने
कास्की, १६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको समानुपातिक बन्दसूची आवश्यक परे पुनरावलोकन गरिने बताउनुभएको छ ।
आज पोखरामा आयोजित पत्रकार भेटघाटमा सभापति लामिछानेले पार्टी एकतासम्बन्धी सहमति र निर्वाचन आयोगमा अन्तिम घडीमा सूची बुझाउनुपरेका कारण केही गुनासो आएको उल्लेख गर्दै विधिभन्दा बाहिर परेका विषय दुई दिनभित्र सम्बोधन गरिने स्पष्ट पार्नुभयो ।
उहाँले पार्टीभित्र र बाहिरबाट भइरहेको खबरदारीलाई सकारात्मक रूपमा लिएकोसमेत बताउनुभयो । “पार्टीले बुझाएको बन्दसूचीप्रति केही आलोचना र गुनासो आएका छन् ।
अन्तिम समयमा सूची बुझाउँदा केही समस्या देखिन सक्छन्,” उहाँले भन्नुभयो, “रास्वपा विधिमा आधारित पार्टी हो । विधिभन्दा बाहिर जाने कुनै अवस्था हुँदैन । हाम्रो विधानमा ‘राइट टु रिकल’ को व्यवस्था छ र परिवारवादलाई पार्टी विधानले नै निषेध गरेको छ ।”
सभापति लामिछानेले युवाहरूको विश्वास काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति रहेको उल्लेख गर्दै उहाँलाई नयाँ परिवर्तनको झिल्कोका रूपमा लिएर सहकार्य गरिएको बताउनुभयो ।
उहाँका अनुसार युवाहरूको आन्दोलनपछि बालेन शाहले जिम्मेवार भूमिका निर्वाह गरेको र उहाँको सद्भाव, सल्लाह र सुझावका आधारमै वर्तमान सरकार गठन भएको हो ।
“जेनजीको विश्वास बालेनसँग छ । देशको आवश्यकता अनुसार उहाँसँग सहमति गरेर जिम्मेवारी बाँडेका छौँ,” सभापति लामिछानेले भन्नुभयो ।

