भेडेटारमा तीन दिने खाना महोत्सवको शुभारम्भ
सुनसरी, १६ पुस – सुनसरी र धनकुटाको सिमानामा अवस्थित प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा आजदेखि १३औँ भेडेटार खाना महोत्सव सुरु भएको छ ।
‘भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नारासहित अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर होटल एसोसिएसन भेडेटारको आयोजनामा हुँदै आएको यो महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री षडानन्द मण्डलले गर्नुभएको हो । महोत्सवमा अर्गानिक खेती प्रणालीबाट उत्पादन भएका तरकारी र फलफूल, हस्तकला सामग्री, कृषि औजार,
घरेलु तथा साना उद्योगका उत्पादनसँगै विभिन्न परिकारहरूको प्रदर्शनी राखिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तथा आयोजक तुमराज लिम्बूले जानकारी दिनुभयो ।
महोत्सवमा सहभागी पर्यटकलाई भेडेटार आसपासका प्रमुख पर्यटकीय गन्तव्य—धरान उपमहानगरपालिका–४ र साँगुरीगढी गाउँपालिका–६ को सीमामा रहेको स्काइ वाक, पाथीभरा मन्दिर, शङ्खेश्वर मन्दिर, नाम्जेको थुम्कीस्थित आत्माघर, सूर्योदय बौद्ध पार्क,
सिम्सुवा झरना, ऐतिहासिक साँगुरी गढी, नाम्जे होमस्टे तथा ध्वजे डाँडालगायत स्थानको अवलोकन गराइने अध्यक्ष लिम्बूले बताउनुभयो ।महोत्सव अवधिमा करिब ५० देखि ६० हजार पर्यटक भेडेटार भित्रिने र दुई करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

