भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन सरकारको तयारी

काठमाडौँ, १६ पुस – महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचना प्रयोग गरेबापतको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्काल पत्र पठाइने बताउनुभएको छ ।

आज भृकुटीमण्डपको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले केही संरचनाको भाडा बक्यौता लामो समयदेखि बाँकी रहेको कुरा स्थलगत अवलोकनबाट स्पष्ट भएको उल्लेख गर्नुभयो ।

“बक्यौता बाँकी छ भन्ने कुरा सुन्दै आएका थियौँ, आज आफैँ अवलोकन गर्दा यथार्थ थाहा भयो । अब बाँकी रकम तिर्न आजै पत्र काट्ने प्रक्रिया सुरु हुन्छ,” उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरण गर्दा समय र बजारअनुसारको दर कायम गरिने पनि स्पष्ट पार्नुभयो । “सरकारी सम्पत्ति सस्तोमा दिइराख्ने होइन, नियमअनुसार केही नाफा हुने गरी भाडा निर्धारण गरिन्छ,” उहाँको भनाइ छ ।

बक्यौता बाँकी रहेका व्यापारी तथा संस्थाको सूची तयार भइसकेको र व्यापारिक प्रयोजनका लागि भाडामा लिएका संरचनाबाट प्राथमिकताका साथ रकम असुली सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

भृकुटीमण्डपका संरचनाको भाडा व्यवस्थापनबारे यसअघि पनि समाज कल्याण परिषद्मा छलफल भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आज विस्तृत रूपमा स्थलगत निरीक्षण गरिएको बताउनुभयो ।

Facebook Comments Box