अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ, १६ पुस – अत्यधिक चिसोका बाबजुद मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल घटेको छैन । समुद्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा चिसो मौसममा पनि भक्तजनको उपस्थिति निरन्तर रहेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अघिल्ला वर्षहरूमा चिसो बढ्न थालेसँगै दर्शनार्थीको संख्या घट्ने गरेको भए पनि यस वर्ष भने तीर्थयात्रीको आगमनमा कमी आएको छैन । अत्यधिक चिसोका कारण स्थानीयको जनजीवन प्रभावित भए पनि दर्शनका लागि आउने भक्तजनको उत्साह उस्तै देखिएको छ । हाल मन्दिर क्षेत्रमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।

यति चिसोका बाबजुद पनि दैनिक औसत एक हजार ५०० दर्शनार्थी मन्दिरमा पुग्ने गरेको भुसालले बताउनुभयो । मन्दिर परिसरमा रहेका १०८ धारामा जलसेचन र कुण्डमा स्नान गरी दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । चिसोका कारण स्वास्थ्य समस्या देखिन सक्ने भएकाले मुक्तिनाथ विकास समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मीको व्यवस्था गरी दर्शनार्थीको हेरचाह गर्दै आएको छ ।

चिसो मौसममै पनि पर्यटकको आगमन जारी रहँदा होटल व्यवसायसमेत चलायमान बनेको छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकको उपस्थिति देखिन्छ, जसमा विशेषगरी भारतीय पर्यटकको संख्या उल्लेख्य रहने गरेको छ । हुम्लाबाट मुक्तिनाथ दर्शनका लागि आउनुभएका सुन्दर राउतले मन्दिरको महिमा सुनेर दर्शन गर्न आएको र यहाँ आइपुग्दा अत्यन्त खुसी लागेको बताउनुभयो ।

यस्तै, जाजरकोटबाट आउनुभएका देवबहादुर रोकायाले धार्मिक आस्था र विश्वासका साथ मुक्तिनाथ दर्शन गर्न आएको बताउनुभयो । पछिल्लो समय नेपाल–चीन जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज बनेसँगै मुस्ताङमा पर्यटकको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म दुई लाख तीन हजार २९२ आन्तरिक तथा ४८ हजार १०९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

Facebook Comments Box