चितवनको पहिचान बन्दै हात्ती तथा पर्यटन महोत्सव

चितवन, १४ पुस  – हात्तीको राजधानीका रूपमा परिचित चितवनको सौराहामा आयोजना हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव १९औँ संस्करणसम्म आइपुग्दा चितवनकै पहिचान र ब्रान्डका रूपमा स्थापित भएको छ। अफ–सिजनमा पर्यटक आगमन बढाउने उद्देश्यले सुरु गरिएको यो महोत्सवले वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

सन् २००४ मा हात्ती दौड र क्याराभानका रूपमा सुरु भएको महोत्सवले छोटो समयमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय चर्चा पाएको थियो। तर पशु अधिकारसम्बन्धी चासो बढेपछि पछिल्ला वर्षहरूमा कार्यक्रमलाई क्रमशः हात्तीमैत्री ढाँचामा परिमार्जन गरिएको छ।

यस वर्ष पुस ११ देखि सुरु भएको महोत्सव आइतबार सम्पन्न भएको हो। हाल महोत्सवअन्तर्गत हात्ती वनभोज, हात्ती सुन्दरी प्रतियोगिता, छावाबीचको पेनाल्टी सुटआउट, हात्ती पूजा तथा सांकेतिक हात्ती पोलो जस्ता कार्यक्रम समावेश गरिएका छन्।

क्षेत्रीय होटल संघ चितवनका पूर्व कोषाध्यक्ष माधव दुवाडीका अनुसार महोत्सवकै कारण अफ–सिजनमा सौराहामा २० देखि ३० प्रतिशतसम्म पर्यटक वृद्धि भएको छ। पर्यटनविद् विश्व सुवेदीका अनुसार क्रिसमस र अंग्रेजी नयाँ वर्ष आसपास विदेशी पर्यटक फर्किने समयमा यस्ता कार्यक्रमले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुर्‍याउँछन्।

हात्तीविज्ञ डा कमल गैरेले वन्यजन्तु पर्यटन र संरक्षणका लागि हात्तीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। “हात्ती बिना वन्यजन्तु व्यवस्थापन र पर्यटक अनुभव दुवै सम्भव हुँदैन,” उहाँको भनाइ छ। यद्यपि केही पशु अधिकारकर्मीहरूले हात्तीमाथि दबाब पर्ने भन्दै महोत्सवको आलोचना गर्दै आएका छन्। तर आयोजकका अनुसार उनीहरूको सुझावकै आधारमा कार्यक्रमलाई थप जिम्मेवार र अनुगमनसहितको हात्तीमैत्री बनाइएको हो।

संयोजक गुणराज थपलियाका अनुसार, “हामीले आफ्नै परिवारझैँ पालिएका हात्तीलाई कुनै पनि प्रकारको यातना नदिई पर्यटक र संरक्षण दुवैको हितमा कार्यक्रम आयोजना गरेका छौँ।” २१ वर्षको यात्रामा निरन्तर सुधार हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव अहिले चितवन र सौराहाको पर्यायका रूपमा स्थापित भएको छ।

Facebook Comments Box