आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते
डडेल्धुरा, १२ पुस – डडेल्धुराको आलिताल गाउँपालिकामा जिप र अटो आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको आलिताल गाउँपालिका–४ जाल्टुडामा शुक्रबार राति करिब ८ः३० बजे म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परशुराम नगरपालिका–१० जोजला निवासी २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। साथै, अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते हुनुभएको छ। उहाँको अवस्था गम्भीर भएपछि जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिनुभयो।
प्रहरीका अनुसार अटोमा चालकसहित तीन जना सवार थिए। दुर्घटनापछि अटो चालक गोपाल मगर फरार रहेको र जिप चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। जिपमा सवार तीनै जना सकुशल रहेका छन्। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

