विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै
काठमाडौँ, ११ पुस – ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै उनीहरूप्रति सम्मान, सुरक्षा र सामाजिक सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले सरकारी तथा गैरसरकारी निकायले विविध कार्यक्रम आयोजना गरेका छन्।
विसं २०५१ पुस ११ गते नेपालमा सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। यो अवसरले ज्येष्ठ नागरिकप्रतिको सामूहिक दायित्व, जिम्मेवारी र कर्तव्यको पुनः स्मरण गराउनुका साथै उनीहरूप्रति सम्मान र आदरभाव अभिव्यक्त गर्ने सन्देश दिन्छ। जीवनको लामो यात्रामा ज्येष्ठ नागरिकले समाजका लागि पुर्याएका योगदान, त्याग र सेवालाई समाजको अमूल्य सम्पत्ति मानिन्छ।
नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ। संविधानले स्वास्थ्य सेवा, सम्मानजनक जीवन र आवश्यक सहयोग प्राप्त गर्ने अधिकार प्रत्याभूत गरेकाले उनीहरूको गरिमामय जीवनका लागि कानुनी आधार सुदृढ बनेको छ।
नेपालमा विसं २०५२ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई प्रतिमहिना रु एक सय वृद्धभत्ता दिने व्यवस्था सुरु गरेको थियो। हाल उक्त भत्ता बढेर प्रतिमहिना रु चार हजार पुगेको छ। सरकारी तथ्याङ्कअनुसार देशभर करिब १७ लाख ज्येष्ठ नागरिकले वृद्धभत्ता प्राप्त गर्दै आएका छन्।

