निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, १२ पुस – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन्।

यसैगरी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सदस्य, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी पनि अस्थायी मतदाताका रूपमा मतदान गर्न पाउनेछन्।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहद्वारा सञ्चालन गरिएका वा ती सरकारको स्वीकृतिमा सञ्चालित वृद्धाश्रममा बसोबास गर्ने व्यक्ति तथा संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई समेत अस्थायी मतदाताको सूचीमा राखिने व्यवस्था गरिएको छ। अस्थायी मतदाता नामावली समन्वय समितिको संयोजकका रूपमा मतदाता नामावली हेर्ने निर्वाचन आयुक्त रहने व्यवस्था छ।

समितिमा निर्वाचन आयोगका सचिव, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहनेछन्। साथै, निर्वाचन आयोगका सबै महाशाखाका सहसचिव र आयोगका वरिष्ठ कम्प्युटर अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ।

मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका उपसचिव वा तोकिएका अधिकारी सदस्य–सचिव रहनेछन्। जिल्ला तहमा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जिल्ला कारागार प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ। निर्वाचन अधिकारी सदस्य–सचिव रहनेछन्।

अस्थायी मतदाता नामावली सङ्कलनका लागि सम्बन्धित निकायसँग कर्मचारीको विवरण माग गरी विद्युतीय प्रतिसहित निर्वाचन कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ। प्रमुख नाम दर्ता अधिकारीले अस्थायी मतदाता नामावली सम्बन्धित निर्वाचन अधिकृतलाई उपलब्ध गराउनेछन्। निर्वाचन अधिकृतले मतदाता केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको अस्थायी मतदाता नामावली तोकिएको ढाँचामा तयार पार्नुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

Facebook Comments Box