त्रिविको ५१औँ दीक्षान्त समारोह आज
काठमाडौँ, १० पुस – त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज आयोजना हुँदैछ। विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह गर्न लागिएको हो।समारोहमा सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। टोकियो विश्वविद्यालयमा आबद्ध प्राध्यापक काजिताले न्यूट्रिनो सम्बन्धी अनुसन्धानका लागि नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो।
त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। मण्डप निर्माण, दीक्षित विद्यार्थी तथा अभिभावकका लागि बस्ने कुर्सीको व्यवस्थापनलगायतका सबै कार्य सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो।
यसपटक १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ। दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ। विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्, जसमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागी हुन निवेदन दिएका छन्।
समारोहमा विभिन्न सङ्काय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने ११ छात्रा र १४ छात्रलाई पदक प्रदान गरिनेछ। यस वर्ष मानविकी सङ्कायबाट १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनबाट दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ विद्यार्थी उत्तीर्ण भएका छन्।

