जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

ललितपुर, ९ पुस – विगतका वर्षहरूमा जस्तै चहलपहल देखिँदैनथ्यो—ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को आश्रममा मङ्गलबार । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेपछि आश्रम ध्वस्त बनेको छ । आगजनी र तोडफोडबाट क्षतिग्रस्त आश्रम त्यसयता सुनसान अवस्थामा छ ।

यही कारण पुस ८ गते परेको किसुनजीको १०२औँ जन्मजयन्ती तथा स्मृति दिवसमा आश्रमको मूल गेट बन्द थियो । विगतमा जस्तो कुनै औपचारिक कार्यक्रम आयोजना भएन, न त राजनीतिक दलका नेता वा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति नै देखियो ।

आश्रमको ताला लगाउने स्थानमा बेरिएको तार, परिसरभित्र आगजनी गरिएका दुईवटा सवारीसाधन अलपत्र अवस्थामा थिए । फुटेका सिसासहितका झ्याल, ट्रष्ट फ्याँकिएको कार्यक्रमस्थल र भग्नावशेष मात्र बाँकी थिए । आश्रम अगाडि रहेको किसुनजीको शालिकसमेत तोडफोड गरिएको अवस्थामा देखिन्थ्यो ।

लोकतन्त्रका लागि जेल जीवन बिताएका, सत्ता होइन सिद्धान्त रोजेका नेताको स्मृतिस्थलको यो अवस्थाले जो–कोहीलाई भावविह्वल बनाउने दृश्य प्रस्तुत गरिरहेको थियो । विसं १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा जन्मनुभएका कृष्णप्रसाद भट्टराईको जीवन नै नेपालको आधुनिक राजनीतिक इतिहास भएको बताउनुहुन्छ पूर्वसांसद तथा प्राध्यापक होमराज दाहाल ।

“राणा प्रधानमन्त्री वीर शम्शेरको वक्रदृष्टिका कारण उहाँको परिवार बनारस निर्वासित हुनुपरेको थियो,” प्राध्यापक दाहाल भन्नुहुन्छ, “त्यही परिवेशले उहाँलाई राजनीतितर्फ डो¥यायो । सन् १९४२ को ‘अङ्ग्रेज भारत छोडो’ आन्दोलनमा सक्रिय सहभागी बनेर उहाँ पहिलो पटक जेल पर्नुभयो ।”

बनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष बनेर नेपाली युवामा राजनीतिक चेतना फैलाउनुभएका भट्टराई विसं २००३ मा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन हुँदा महामन्त्री बन्नुभयो । पछि नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरण भएर बनेको नेपाली कांग्रेसमा उहाँ सहमहामन्त्री हुनुभयो ।

विसं २००७ को सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर क्षेत्र कब्जा गर्ने मुक्ति सेनाका कमाण्डरका रूपमा उहाँको भूमिका इतिहासमा उल्लेखनीय छ । विसं २०१७ पुस १ गते राजा महेन्द्रको ‘कू’पछि थापाथलीबाट बिपी कोइरालासँगै पक्राउ परेर उहाँले लगातार १० वर्ष जेल जीवन बिताउनुभयो । जीवनभर गरेर १४ वर्षभन्दा बढी समय जेलमै बिताएका भट्टराईले कहिल्यै निर्वासन रोज्नुभएन ।

विसं २०५० मा स्नातकोत्तर अध्ययनका क्रममा किसुनजीको राजनीतिक जीवनीमा शोधपत्र तयार गरेको स्मरण गर्दै प्राध्यापक दाहाल भन्नुहुन्छ, “अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र सम्भव छ भन्ने दृढ विश्वास उहाँको राजनीतिक कर्मको मूल आधार थियो ।”

जेलमुक्त भएपछि विसं २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको स्थापना समारोह उद्घाटन गरेर विद्यार्थी आन्दोलनलाई ऊर्जा दिनुभएका भट्टराईलाई २०३४ को पटना सम्मेलनपछि बिपी कोइरालाले कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठका अनुसार, “बिपीको निधनपछि पनि करिब डेढ दशकसम्म किसुनजीले कार्यवाहक सभापतिकै रूपमा पार्टीको नेतृत्व गर्नुभयो । २०४६ को जनआन्दोलन घोषणासभा, क्षेत्रपाटी सम्मेलन, जनआन्दोलनको सभापतित्व तथा २०४७ मा अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी पनि उहाँले नै निर्वाह गर्नुभयो ।”

आन्दोलन सफल भएपछि एक वर्षभित्र संविधान निर्माण र निर्वाचन सम्पन्न गरेर सत्ता होइन दायित्वलाई प्राथमिकता दिने राजनीतिक उदाहरण किसुनजीले प्रस्तुत गर्नुभएको श्रेष्ठको भनाइ छ । प्रधानमन्त्री हुँदा गराइएको विसं २०४८ को निर्वाचनमा उहाँ स्वयं पराजित हुनुभयो । विसं २०१५ मा गोर्खा र विसं २०५१ मा काठमाडौँ क्षेत्र नं. १ बाट पनि पराजय भोग्नुभयो । तर ती पराजयले उहाँको राजनीतिक उचाइ घटाएनन्, बरु शान्त नेताको छवि झन् उजागर भयो ।

अविवाहित रहनुभएका भट्टराई प्रधानमन्त्री पदबाट राजीनामा दिएर छाता र कमण्डलु बोकेर बाहिरिनुभएको जीवनशैली आज पनि राजनीतिमा नैतिकताको प्रतीकका रूपमा सम्झिन्छन् धेरैले । विसं २०४८ को निर्वाचनपछि बालुवाटार छोडेर छाता हातमा लिएर पैदल निस्किएको दृश्य नेपाली राजनीतिक इतिहासमा दुर्लभ मानिन्छ ।

विसं २०६७ फागुन २० गते राति ११ बजेर २६ मिनेटमा काठमाडौँको नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा उहाँको निधन भयो । फागुन २१ गते पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गरिएको थियो ।

Facebook Comments Box