राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य–सचिवमा डा. नरेश सुवेदी पुनः नियुक्त

काठमाडौँ, ३ पुस – राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य–सचिव पदमा डा. नरेश सुवेदी पुनः नियुक्त हुनुभएको छ। निवर्तमान वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले उहाँलाई सदस्य–सचिवमा दोहोर्‍याएर नियुक्त गर्नुभएको हो। ठकुरी कोषका अध्यक्षसमेत हुनुहुन्छ र अध्यक्षले सदस्य–सचिव नियुक्त गर्ने व्यवस्था छ।

यसअघिको सरकारबाट बाहिरिए पनि पूर्वमन्त्री ठकुरी हाल कोषका वहालवाला अध्यक्ष रहनुभएको छ। सदस्य–सचिवको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। कोषका वरिष्ठ कार्यक्रम निर्देशकसमेत रहनुभएका डा. सुवेदी करिब डेढ वर्षअघि सदस्य–सचिवमा नियुक्त हुनुभएको थियो, जसको कार्यकाल २ पुसमा सकिएको थियो।

तत्कालीन सदस्य–सचिव शरदचन्द्र अधिकारी नियुक्ति विवादमा तानिएपछि राजीनामा दिएसँगै रिक्त पदमा तत्कालीन अध्यक्ष डा. कृष्णप्रसाद ओलीले डा. सुवेदीलाई सदस्य–सचिव नियुक्त गर्नुभएको थियो।

गैंडा विज्ञका रूपमा परिचित डा. सुवेदीले गैंडा, हिउँ चितुवा, हात्ती र बाघजस्ता ठूला वन्यजन्तुको संरक्षण तथा अनुसन्धानका क्षेत्रमा नीतिगत तहमा काम गरेको अनुभव छ।

उहाँले चितवन राष्ट्रिय निकुञ्जसहित बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा अन्य संरक्षित क्षेत्रका वन्यजन्तु विचरण क्षेत्रको स्थलगत अध्ययन तथा अनुसन्धानमा समेत सहभागिता जनाउनुभएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्रको व्यवस्थापन गर्दै आएको छ। साथै, चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कोषअन्तर्गत विभिन्न संरक्षण कार्यक्रम सञ्चालन भइरहेका छन्।

Facebook Comments Box