निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौँ, ४ पुस – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ कार्यान्वयनमा ल्याउँदै सुरक्षा व्यवस्था चुस्त पारेको छ।

निर्वाचनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको जनाएको छ। निर्वाचन आयोगबाट प्राप्त निर्णयहरूलाई समेत आत्मसात् गर्दै उपलब्ध स्रोत–साधनको अधिकतम उपयोगमार्फत निर्वाचन सम्पन्न गर्न प्रहरी दृढ सङ्कल्पित रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो।

निर्वाचन लक्षित गस्तीलाई थप प्रभावकारी र व्यापक बनाइएको बताउँदै उहाँले हालसम्म लामो दूरीको गस्ती एक हजार १३६ पटक र सानो दूरीको गस्ती तीन लाख ८९ हजार ९६० पटक गरिएको जानकारी दिनुभयो। ती गस्तीमा १३ लाख ४६ हजार ३२८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।

निर्वाचनसँग सम्बन्धित सम्भावित तोडफोड, आगजनी तथा अन्य अराजक गतिविधि नियन्त्रण गर्न प्रहरीले गस्तीलाई दिनानुदिन अझ सशक्त बनाउँदै आएको काफ्लेले बताउनुभयो। “निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन नियमित गस्तीका साथै सूचना सङ्कलन, खतरा मूल्याङ्कन, विश्लेषण तथा सूचना प्रवाहलाई प्रभावकारी बनाइएको छ,” उहाँले भन्नुभयो।

सीमाक्षेत्रमा हुने घुसपैठ तथा आपराधिक गतिविधि नियन्त्रण गर्न नियमित अनुगमन र प्रभावकारी प्रहरी परिचालन गरिएको जनाइएको छ। उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, विशिष्ट व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, प्रचारप्रसार गतिविधि तथा विजय जुलुसको सुरक्षालाई मजबुत बनाउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरिएको छ।

महत्त्वपूर्ण तथा संवेदनशील प्रतिष्ठान र संरचनामा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ भने निर्वाचन विरोधी समूहहरूको गतिविधिमाथि निगरानी, नियन्त्रण र कारबाही तीव्र पारिएको छ। अवैध तथा जबर्जस्ती चन्दा सङ्कलन, धम्की, गुण्डागर्दी तथा अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको जनाइएको छ।

यसैगरी आन्दोलनका क्रममा लुटिएका वा हराएका हातहतियारबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न तिनको पहिचान तथा बरामदका लागि विशेष प्रहरी टोली गठन गरी परिचालन गरिएको छ। फरार कैदीबन्दी तथा थुनुवाको पक्राउ कार्यमा समेत प्रहरी क्रियाशील रहेको जनाइएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना गृह मन्त्रालयबाट स्वीकृत भइसकेको सन्दर्भमा आवश्यक तयारीलाई प्रभावकारी बनाउन नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ।

Facebook Comments Box