निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
काठमाडौँ, ३ पुस – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ। ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ भन्ने नारासहित सामाजिक अध्ययन शिक्षकलाई लक्षित गरी तयार पारिएको निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।
सात परिच्छेदमा तयार पारिएको स्रोत पुस्तिकामा लोकतन्त्र र संविधान, निर्वाचन तथा राजनीतिक दलसम्बन्धी व्यवस्था, निर्वाचन प्रणाली, विभिन्न तहका निर्वाचन र समावेशिताका विषय समेटिएका छन्। यसैगरी निर्वाचन चक्र, मतदान प्रक्रिया, नोटा (नो भोट) र मतगणनासम्बन्धी विवरण, निर्वाचन व्यवस्थापन गर्ने निकाय र सम्बन्धित कानुन, निर्वाचन आचारसंहिताको पालना, अनुगमन तथा पर्यवेक्षणसम्बन्धी विषय पनि समावेश छन्।
पुस्तिकामा निर्वाचनका सरोकारवाला, नागरिकका अधिकार र कर्तव्य, निर्वाचन प्रक्रियामा शिक्षकको भूमिका तथा निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमणसम्बन्धी विषयवस्तु समेत समेटिएको निर्वाचन आयोगले जनाएको छ।

