तनहुँमा सुन्तला उत्पादन र बिक्रीको विवरण सङ्कलन

तनहुँ, ३ पुस – तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लामा उत्पादित सुन्तलाको उत्पादन र बजारीकरणसम्बन्धी विवरण सङ्कलन सुरु गरेको छ। व्यावसायिक सुन्तलाखेती गरिएका क्षेत्रमा स्थलगत रूपमा बगैँचा अवलोकन गर्दै तथ्यांक सङ्कलन भइरहेको कार्यालयले जनाएको छ।

कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारका अनुसार बगैँचा अवलोकनका क्रममा किसानले भोगिरहेका समस्या र तिनको सम्भावित समाधानबारे जानकारीसमेत दिइँदै आएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन वृद्धि हुने अनुमान गरिएको छ।

बेनीकोटका कृषक दलबहादुर थापाका अनुसार केही वर्षयता सुन्तलाका बोट सुक्दै जाने समस्या देखिए पनि यस वर्ष मात्रै बेनीकोट क्षेत्रबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री भइसकेको छ। सो क्षेत्रमा १०० भन्दा बढी कृषक सुन्तलाखेतीमा संलग्न छन्।

कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्लाबाट रु ४२ करोड ५० लाख बराबरको सुन्तला बिक्री भएको थियो। त्यस अवधिमा एक हजार ६५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९६८ हेक्टरबाट पाँच हजार ८३१ मेट्रिक टन उत्पादन भएको थियो। यसअघि आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७५० मेट्रिक टन सुन्तला उत्पादन भई करिब रु ३० करोडको कारोबार भएको थियो।

जिल्लामा आठ हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयले सुन्तलाखेती गर्ने कृषकलाई बगैँचा व्यवस्थापनमा निरन्तर सहयोग गर्दै आएको छ।

Facebook Comments Box