एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु
काठमाडौँ, २७ मङ्सिर — नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा गरिँदैछ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका सबै तयारी पूरा भएका छन्। उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने अनुमान गरिएको छ।
उद्घाटन समारोहमा राष्ट्रिय एकताको सन्देश दिने २०० भन्दा बढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ। उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत १६ वटा राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।
महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईका अनुसार मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग र राजनीतिक दलबाट शुभकामना सन्देश प्राप्त भइरहेको छ। महाधिवेशनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न एमालेका २४ जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० भन्दा बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटाइने जनाइएको छ।
जनसेवालाई व्यवस्थित बनाउन करिब १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ। एमालेले लिच्छविकालीन राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूपमा राखी उपत्यकाका विभिन्न महत्वपूर्ण मन्दिर एकै ठाउँमा देखिने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ।
टाढाबाट समेत वक्ताको प्रस्तुति प्रस्ट देखिने गरी मञ्चको दायाँ–बायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन जडान गरिएको छ। तीन किलोमिटरसम्म आवाज पुग्ने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको छ। मञ्चअगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ।
महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति कलाकारहरूले मञ्चमै प्रस्तुत गर्नेछन्। उद्घाटन समारोहमा मञ्चमा निर्माण गरिएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखी पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत पाल बालेर महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
पार्टीको ११औँ महाधिवेशन भएकाले ११ वटा झण्डा राखिनेछ, जसमध्ये १० वटा सुरुमै फहराइने र एउटा झण्डा रिमोटमार्फत फहराइने व्यवस्था गरिएको छ। उद्घाटन सत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि कोटेश्वरदेखि गट्ठाघरसम्म आवागमनको व्यवस्था गरिएको छ।
गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको खाली चौर तथा काभ्रेतर्फबाट आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङ क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ। उद्घाटनअघि गट्ठाघर र जगातीबाट भव्य र्यालीसहित सहभागीहरू कार्यक्रमस्थल पुग्ने व्यवस्था गरिएको छ।

