एनपिएलको फाइनल शनिबार : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने

काठमाडौँ, २६ मङ्सिर – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि भिडन्त शनिबार हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे सुरु हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन्।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराएर उपाधि प्रतिस्पर्धामा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायरमार्फत पुनः मौका पाए पनि लुम्बिनीले रोकिदियो।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम यो पटक उपाधि उचाल्ने दाबेदार मानिएको छ। गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले हार्दै उपविजेतामा सीमित भएको सुदूरपश्चिमले  उपाधि जित्ने लक्ष्य लिएको छ। रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी भने अघिल्लो संस्करणमा लिग चरणमै बाहिरिएको दाग मेटाउँदै जसरी भए पनि ट्रफी जित्ने योजनामा छ।

यस संस्करणमा दुवै टोलीबीचको लिग खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७ विकेटको जित दर्ता गरेको थियो। प्रतियोगिताको विजेताले नगद रु १ करोड १० लाख प्राप्त गर्नेछ। उपविजेताले रु ५१ लाख, तेस्रो स्थानले रु २५ लाख र चौथो स्थानले रु १५ लाख पुरस्कार पाउनेछ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गरेको एनपिएल मङ्सिर १ गतेदेखि सुरू भएको हो, जसमा जम्मा आठ टोली सहभागी छन्।

Facebook Comments Box