विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं, २३ मंसिर – सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गर्न सफल भएको छ।

मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई एकपक्षीय रूपमा पराजित गर्दै सुदूरपश्चिम उपाधिसम्मको यात्रामा एक कदम नजिक पुगेको हो।

पहिलो संस्करणमा जस्तै, दोस्रो संस्करणमा पनि फाइनलमा पुग्ने पहिलो टिम सुदूरपश्चिम नै बन्यो। लिग चरणको अन्तिम खेलमा विराटनगरसँग भोगेको हारको बदला लिँदै सुदूरपश्चिमले क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्‍यो।

१५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमै ७८ रनमा अलआउट भयो। सुदूरपश्चिमका बलरहरूको धारिलो बलिङ, चुस्त फिल्डिङ र निरन्तर दबाबका कारण विराटनगरको ब्याटिङ लाइनअप पूरी तरह ढल्यो।

विराटनगरका ओपनर फाफ डु प्लेसीले ३६ रन बनाएर केही प्रतिरोध गरे पनि अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न समेत सकेनन्। मर्चेन्ट डे लाङले १५ र बसिर अहमदले १२ रन जोडे।

सुदूरपश्चिमका स्कट कुगेलेइन, हर्मीत सिंह र अविनाश बोहराले समान २–२ विकेट लिनुका साथै हेमन्त धामी र कप्तान दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए। दुई खेलाडी रनआउट भएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। ओपनर विनोद भण्डारीले ५२ बलमा ६३ रनको उत्कृष्ट पारी खेले—उनको यो जारी लिगको दोस्रो अर्धशतक हो।

यससँगै उनी ८ खेलमा २६४ रनसहित सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिए। यस खेलमार्फत डेब्यु गरेका भारतीय ब्याटर शेल्डन ज्याक्सनले २० रन, आरिफ शेखले पनि २० रन जोडे। मुख्तर अहमदले डेब्यु खेलमै १० रन बनाएर आउट भए।

विनोदले ज्याक्सनसँग दोस्रो विकेटका लागि ४० रन र इशान पाण्डेसँग तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे। कप्तान दीपेन्द्र सिंह ऐरी ३ रनमै रनआउट भए भने हर्मीत सिंहले १४ रन जोडे।

१९औँ ओभरको अन्तिम बलमा ६३ रन बनाएर विनोद आउट भएपछि सुदूरपश्चिमले अन्त्यमा मध्यम स्कोर तयार गरेको थियो। मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २–२ विकेट लिए भने सूर्य तामाङ र साम हिजलेटले १–१ विकेट हात पारे।

Facebook Comments Box