प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गर्दै किसान राईको आकर्षक आम्दानी
पाँचथर, २३ मङ्सिर – पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमार्फत किबी भण्डारण गरी उल्लेखनीय लाभ उठाउँदै आएका छन्। उत्पादनको मुख्य सिजन सकिएपछि बजारमा पुग्दा शीतभण्डारमा राखिएको किबीको मूल्य तेब्बरसम्म बढ्ने र स्वाद पनि उस्तै रहने भएपछि राई पछिल्ला वर्षहरूदेखि यस्तो विधिबाट आम्दानी गर्दै आउनुभएको हो।
राईले विसं २०७६ मा इलाममा किबी खेतीको तालिमसँगै प्राकृतिक शीतभण्डारबारे जानकारी पाएपछि चार वर्षअघि शीतभण्डार निर्माण गरेका थिए। त्यसयता उहाँले चारदेखि छ महिनासम्म किबी भण्डारण गरी बजारमा लैजाने गरिएको बताउनुभयो। “जग्गा चिसो भएकाले यहाँ शीतभण्डार राम्रोसँग काम गर्छ,” राईले बताउनुभयो।
जमिनमा खाडल खनी काठ विच्छ्याई बनाइएको प्राकृतिक शीतभण्डारमा क्यारेटहरूमा किबी राखिने र पानीबाट जोगाउन त्रिपालले ढाकिने गरिएको राईले बताए। मङ्सिरमा भण्डारण गरिएको किबी वैशाख–जेठसम्म पनि उस्तै रहने उनको अनुभव छ। करिब ६० क्यारेटसम्म अट्ने शीतभण्डारलाई भविष्यमा अझ ठूलो तथा आधुनिक रूप दिने इच्छा रहेको बताउँदै राईले प्राकृतिक चिसोका कारण उत्पादित किबी नबिग्रिएको प्रष्ट पारे।
किबी उत्पादनमा मूल्य नपाएर किसान निराश हुनुपर्ने अवस्थामा प्राकृतिक शीतभण्डारले आफूलाई राहत दिएको राईको भनाइ छ। फागुनपछि किबीको मूल्य बढ्ने भएकाले शीतभण्डारमा राखिएको किबी महँगोमा बिक्री हुने उल्लेख गर्दै उहाँले “अहिले ६० रुपैयाँ पर्ने किबी चैतपछि १५० रुपैयाँसम्ममा बिक्री हुन्छ,” भन्नुभयो। प्रतिकिलो १०० रुपैयाँसम्म बढी मूल्य पाउँदा शीतभण्डार आफूसाठी ‘बरदान’ बनेको उहाँको भनाइ छ।
तर शीतभण्डारमा मुसाले क्षति पुर्याउने समस्या रहने गरेको राईले बताए। मुसाले किबी खान थालेपछि गन्हाउने र बिग्रने समस्या देखिने भएकाले उचित सुरक्षा आवश्यक हुने उहाँको सुझाव छ। जिल्लामा ठूलो शीतभण्डार सुविधा नहुँदा किसानहरूले उत्पादन लगेपछि तुरुन्तै सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको पनि उहाँको बुझाइ छ।
राईले करिब १५ रोपनीमा २०० बोट किबी खेती गर्दै आउनुभएको छ। हाल करिब ४० बोटले उत्पादन दिइरहेका र बाँकी नयाँ बिरुवा रहेका छन्। उहाँले बर्सेनि दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बताउँदै आगामी वर्षमा आम्दानी अझै बढ्ने अपेक्षा राख्नुभएको छ।
हेवार्ड जातिको किबी रोपेको राईले धेरै समय टिक्ने र बजार मूल्य पनि प्रतिस्पर्धात्मक हुने बताए। पूर्वी नेपालमा किबी खेती विस्तारसँगै उत्पादन बढे पनि परम्परागत बालीको तुलनामा किबीले अझै राम्रो आम्दानी दिने राईको अनुभव छ।

