काठमाडौँका केही क्षेत्रमा आज बिजुली काटिँदै
काठमाडौँ, २० मङ्सिर – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायत स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति बन्द रहने जानकारी दिएको छ। विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजना अन्तर्गत आवश्यक कार्य गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि मध्यान्न १२ बजेसम्म बिजुली कटौती गर्न लागिएको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ।
मित्रपार्क–पशुपति कलेज क्षेत्र, विमानस्थल फिडरअन्तर्गत पर्ने ढल किवास आयोजना क्षेत्र, विमानस्थल आर्मी व्यारेकसम्म, तथा बत्तीसपुतली फिडरअन्तर्गत चाबहिल दिर्घायु अस्पतालदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म आज विद्युत् आपूर्ति बन्द रहनेछ।
यस्तै नयाँ चाबहिल–नयाँबस्ती फिडरअन्तर्गत पर्ने मित्रपार्क अगाडि बिहान ७ बजे देखि ८ बजेसम्म चाबहिलचोक, गौरीघाट चोक हुँदै नयाँबस्ती सम्पूर्ण क्षेत्रमा पनि विद्युत् रोकिने प्राधिकरणले जनाएको छ। बिजुली कटौतीका कारण ग्राहकले भोग्नुपर्ने असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै तोकिएको काम समयअघि सकिएमा आपूर्ति यथाशीघ्र नियमित गरिने जनाएको छ

