देशभरका २ सय ४० तहको अन्तिम नतिजा : कांग्रेस १ सय ९ स्थानमा, एमाले ६३ स्थानमा विजयी
काठमाडाैं, ३ जेठ – स्थानीय तह निर्वाचनको नजिता देशभरबाट आउने क्रम जारी छ। अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइरहेको छ। सार्वजनिक नतिजाअनुसार सबैभन्दा धेरै स्थानीय तहमा सत्तारुढ नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसले अहिलेसम्म १ सय ९ स्थानीय तहमा जित निकालेको भने १ सय ९५ स्थानीय तहमा अग्रता कायम राखेको छ। नेकपा एमाले दोस्रो स्थानमा छ। अहिलेसम्म एमाले ६३ स्थानमा विजयी भएको छ भने १ सय ३५ स्थानीय तहमा अगाडि छ।
सार्वजनिक परिणामअनुसार अर्को सत्तारुढ दल नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादी केन्द्रले अहिलेसम्म ५५ स्थानीय तहमा जित निकालेको छ भने ६२ स्थानीय तहमा अग्रता कायम राखेको छ।
त्यसैगरी एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी अहिलेसम्म ४ स्थानीय तहमा विजयी भएको छ भने १४ स्थानीय तहमा अघि छ। जसपाले अहिलेसम्म २ स्थानीय तहमा जित निकालेको छ भने ३० स्थानीय तहमा अघि छ।

