मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदायले मनाइरहेका छन् उँधौली पर्व

काठमाडौँ, १८ मङ्सिर – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले पितृप्रति कृतज्ञता र प्रकृतिप्रति सम्मान व्यक्त गर्दै उँधौली पर्व देशभर विविध विधि–विधानसहित मनाइरहेका छन्। किराँत समुदायका विभिन्न शाखाले यो पर्वलाई फरक–फरक नामले सम्बोधन गर्ने चलन छ। याक्खाले ‘चासुवा’, सुनुवारले ‘फोलस्यादर’, राईले ‘उँधौली सकेला’ र लिम्बूहरूले ‘चासोक तङ्नाम’का रूपमा पर्व मनाउँछन्।

लिम्बूहरूले चासोक तङ्नाम तीन दिनअघि नै सुरु गरेका थिए। अनुसन्धानकर्ता कीर्तिकुमार दुमी राईका अनुसार नाम फरक भए पनि समग्रमा सबै समुदायले यसलाई उँधौलीकै रूपमा लिन्छन्। किराँत समुदायमा वर्षभरि मेहनत गरेर लगाएको अन्नबाली पाकेपछि इष्टदेवता र पितृलाई अर्पण गर्दै अन्न खान अनुमति माग्ने संस्कारका रूपमा उँधौली पूजाको परम्परा छ। बाली रोप्ने समय भने ‘यावा’ अर्थात् उँभौली पर्व मनाइन्छ।

बिहानैदेखि किराँत महिला–पुरुष जातीय पहिरनमा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पूजा स्थलमा पुग्ने गर्छन्। पर्व र संस्कार एउटै भए पनि समुदायअनुसार नाम भिन्न हुन्छ। ललितपुरको सानो हात्तीवन किराँतकालीन ऐतिहासिक धार्मिक स्थल मानिने भएकाले आज यहाँ विशेष रौनक देखिन्छ।

लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई इष्टदेवता मान्दै पूजाआजा गर्छन् भने किराँतहरूले आकृतिविहीन शक्तिका रूपमा मानिने तागेरा निङ्वाफुमाङको पूजा गर्छन्। पूजापछि चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायत परम्परागत नृत्य गर्दै पर्व मनाइन्छ। सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता आयोजना गर्ने चलन पनि छ।

अनुसन्धानकर्ता राईका अनुसार वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरी पहाड–लेकतिर जाने र मार्गशीर्ष शुक्ल पूर्णिमामा उँधौली पूजा गरी तल्लो भूभागमा झर्ने परम्परालाई वातावरणीय अनुकूलताको सांस्कृतिक अभिव्यक्ति मानिन्छ।किराँत समुदायले उँभौलीमा खेती सप्रियोस् भनेर कामना गर्छन् भने उँधौलीमा सफल बाली उत्पादनका लागि भूमे (साकेला) प्रति कृतज्ञता व्यक्त गर्छन्।

धन्य पूर्णिमा (खस समुदाय), यःमरि पुन्हि/योमरी पूर्णिमा (नेवार) र उँधौली (किराँत) सबैको मूल भावना भने एउटै छ—नयाँ अन्नबाली देवतामा अर्पण गर्ने र पितृलाई सम्झने परम्परा। यस अवसरमा सरकारले पनि देशभर सार्वजनिक बिदा दिएको छ।

Facebook Comments Box