धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा, १८ मङ्सिर – सिरहाको धनगढीमाई नगरपालिका–३, कुर्वा गाउँको मुसहर बस्ती यतिबेला शोकाकुल छ। जाडो बिहानको चिसोभन्दा धेरै चिसिनु रमेशी सदायको मन हो, जसले वर्षभरि मेहनत गरेर उब्जाएको धान एकै रातमा खरानी बनेपछि परिवार निराशामा छ।

७२ वर्षीय रमेशीसहित पाँच जनाको परिवारले चार दिन बितिसक्दा पनि आँसु सुकाउन सकेका छैनन्। शनिबार मध्यरात अज्ञात समूहले खेतमा थुपारिएको धानको कुन्यूमा आगजनी गरेपछि विपन्न परिवारको वर्षभरिको अन्न र आशा–दुवै जलेर नष्ट भएको हो।

करीब १४ क्विन्टल धान जलेपछि परिवार वर्षभरि खाने अन्न, चामल, पराल, गुइँठादेखि छोराको शैक्षिक खर्चसम्मका सबै योजना ध्वस्त भएको रमेशीका परिवारजन बताउँछन्। “दुःख गरेर रोपेको धान भित्र्याउन नपाउँदै खरानी बनाइयो,” रमेशी भन्छन्, “अब हामी के खाएर बस्ने?”

भुल्लीदेवी सदायका अनुसार १३० बोझा बनाएर त्रिपाल बिछ्याई राखिएको धान बिहान पुग्दा एक गेडा पनि बाँकी रहेन। कान्छा छोरा लाले सदायले भने, “यो अन्न मात्र थिएन, हाम्रो पूरा वर्षको जीवन यससँग जोडिएको थियो।” आगलागीमा संलग्न भएको आशङ्कामा रमेशी परिवारले घटना भइसकेको भोलिपल्टै प्रहरीमा उजुरी दिएका छन्।

मदिरा पसल सञ्चालक आशाकुमार रायसहित पाँच जनालाई सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाई दैनिक हाजिरीमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी DSP रमेशबहादुर पालले जानकारी दिए। स्थानीय वडाध्यक्ष वीरेन्द्रकुमार साहले गरिब परिवारको अन्नमा गरिएको आगजनीलाई “अक्षम्य अपराध” भन्दै दोषी पहिचान गरी कडा कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिलाउन आग्रह गरे।

घटनापछि नगरप्रमुख शिव शङ्कर महतोसहितको टोलीले स्थल निरीक्षण गरी तत्काल राहत उपलब्ध गराउने आश्वासन दिएको छ। सदाय परिवारका लागि यो घटना अन्न जलेर सकिनु मात्र होइन, विपन्नतामाथिको निर्मम प्रहारजस्तै बनेको छ। परिवार अहिले अपराधी पत्ता लागेर कारबाही हुने तथा राज्यले उचित राहत उपलब्ध गराउने आशामा छ।

Facebook Comments Box