देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले उम्मेदवारी फिर्ता लिए
काठमाडौँ, ७ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगको प्रणालीमा प्राप्त विवरणअनुसार हालसम्म ४९ उम्मेदवारले मनोनयन फिर्ता लिएको जानकारी दिनुभयो। यससम्बन्धी थप विवरण आउने क्रम जारी रहेको उहाँले बताउनुभयो।
उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी–विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।
समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए। माघ १० गते शनिबार दाबी–विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको छ।
आज दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म ती कार्यालयमा दलका तर्फबाट तथा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो।

