लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि पौवादुङमा अभियान सुरु
भोजपुर, १६ मंसिर – पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा तथा विद्युतीय अपराध (साइबर क्राइम) सम्बन्धी सचेतना विस्तार गर्न अभियान सुरु गरेको छ। गाउँपालिकाभित्रका छ वटा माध्यमिक विद्यालयलाई लक्षित गर्दै अभियान सञ्चालनमा ल्याइएको हो।
‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित सुरु गरिएको यस कार्यक्रमबारे गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो। १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानसँगै गाउँपालिकामा विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन भइरहेको उहाँको भनाइ छ।
विद्यालयस्तरमै सचेतना विस्तार गर्ने उद्देश्यले सबै माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको उपाध्यक्ष राईले बताउनुभयो। “विद्यार्थीलाई लैङ्गिक हिंसा र विद्युतीय अपराधबारे आवश्यक जानकारी दिइरहेका छौँ,” उहाँले भनिन्, “यसले कुनै पनि प्रकारका हिंसात्मक गतिविधि रोकथाम गर्न र विद्यार्थीलाई सुरक्षित राख्न मद्दत गर्छ भन्ने आशा छ।”
अभियानमार्फत विद्यार्थीलाई लैङ्गिक हिंसाका रूप र प्रभाव, विद्यालय तथा समुदायमा देखिने सूक्ष्म हिंसाका अवस्था, अनलाइन ठगी, ‘फेक आइडी’, ‘ब्ल्याकमेलिङ’ जस्ता विद्युतीय जोखिम, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा सम्वन्धित कानुनी प्रावधानबारे जानकारी दिइने गाउँपालिकाका अध्यक्ष किरण राईले बताए।
गाउँपालिकामा सबै विद्यालयमा चरणबद्ध रूपमा कार्यक्रम चलिरहेको र यसले विद्यार्थीस्तरमै सचेतना फैलाउन मद्दत गर्ने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले विश्वास व्यक्त गरे। विद्यार्थीमार्फत घरपरिवारसम्म सचेतना पुर्याउने लक्ष्यसहित अभियान सञ्चालन भएको उहाँले बताउनुभयो।

