रास्वपा र विवेकशीलबीच आज औपचारिक एकता घोषणा
काठमाडौँ, १४ मंसिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाबीच आज औपचारिक रूपमा एकता घोषणा हुँदैछ। रास्वपा प्रवक्ता मनिष झाले दिउँसो राष्ट्रिय सभागृहमा विशेष कार्यक्रममार्फत एकता घोषणासभा आयोजना हुने जानकारी दिनुभयो।
रास्वपाका अनुसार असल शासन, सुशासन र समुन्नतिको साझा दृष्टि राख्ने दुवै दलबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विवेकशीलले रास्वपाको नाम, नेतृत्व संरचना तथा चुनाव चिह्न स्वीकार गरेर निःसर्त एकता गर्ने निर्णय गरेको हो।
विवेकशील अभियान विसं २०६९ मा दिवंगत नेता उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको थियो। त्यसपछिल्लो वर्ष २०७० मा विवेकशील नेपाली दलको रूपमा दर्ता भई सक्रिय राजनीतिक प्रतिस्पर्धामा उत्रिएको थियो। रास्वपा भने विसं २०७९ असार ७ गते स्थापना भई हाल संघीय राजनीतिमा सक्रिय दलका रूपमा स्थापित छ।

