नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट

काठमाडौँ, १३ मङ्सिर – नेपाली यू–१९ क्रिकेट टोली एसीसी यू–१९ एसिया कपका लागि छनोट भएको छ। आज अजमानमा भएको सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको शीर्ष तीनमा स्थान बनाउँदै एसिया कपको टिकट सुनिश्चित गरेको हो।

मलेसियाले दिएको ५२ रनको साधारण लक्ष्य नेपालले ७.५ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्‍यो। नेपाली जितमा वंश क्षेत्रीले अविजित २३ रन बनाउँदै अग्रणी भूमिका खेले भने निश्चल क्षेत्रीले पनि अविजित १५ रनको योगदान दिए। मलेसियाका मोहम्मद अक्रामले एकमात्र विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमै ५१ रनमा समेटिएको थियो। उसका हमजाह पङ्गीले १३ तथा मुहम्मद फतुल मुइनले ११ रन बनाए। बाँकी कुनै पनि खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका बलरमध्ये नितिस कुमार पटेल उत्कृष्ट रहे—उनले ४ विकेट लिए। चन्दन रामले ३ विकेट झारे भने कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले एक–एक विकेट हात पारे।

कुल १४ टोलीको सहभागिता रहेको यस छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली एसिया कपका लागि छानिने व्यवस्था छ। यू–१९ एसिया कप आगामी डिसेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) मै हुने कार्यक्रम छ।

Facebook Comments Box