एनपीएलः पोखराको पहिलो जित जनकपुर बोल्ट्स २५ रनले पराजित

काठमाडौँ, ११ मङ्सिर – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ। सुरुआती दुई खेलमा पराजित पोखराले बुधबार साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै प्रतियोगितामा २ अंक जोडेको हो।

पहिलो जितको खोजीमा रहेका दुवै टोलीबीचको प्रतिस्पर्धामा पोखराले टस जितेर पहिले ब्याटिङ रोज्दै ६ विकेटको क्षतिमा १५५ रन बनायो। युगान्डाका अलराउण्डर सुमित वर्माले उत्कृष्ट प्रदर्शन गर्दै २९ बलमा २ चौका र ४ छक्कासहित ५० रन बनाए। त्यसैगरी दिनेश खरेलले ३९, तृतराज दासले २९ तथा एडम रोसिङग्टनले २४ रनको योगदान दिए।

बलिङतर्फ जनकपुरका सञ्जय कृष्णमूर्तिले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए भने कप्तान अनिल शाह र ललित राजवंशीले समान एक–एक विकेट हात पारे।

१५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३० रनमै रोकियो। आठौं नम्बरमा ब्याटिङ गर्न आएका वायने पार्नेलले ३८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अविजित ५० रन बनाए पनि जित दिलाउन सकेनन्।

उनले अन्तिम ओभरको दोस्रो बलमा सिंगल लिएर अर्धशतक पूरा गरेपछि ‘रिटायर्ड आउट’ भएका थिए। जनकपुरका सञ्जय कृष्णमूर्तिले २५ तथा माज साजाकातले २० रन जोडे।

पोखराका स्पिनर विपिन खत्रीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिए। त्यस्तै सुमित वर्माले २ विकेट हात पारे भने कप्तान कुशल भुर्तेल र जिमी निशमले एक–एक विकेट लिए।

दुवै पक्षले सुरुआती खेलहरूमा निराशाजनक प्रदर्शन गरेकाले आजको नतिजा दुवैका लागि महत्वपूर्ण थियो। यसमा पोखराले प्रभावकारी खेल प्रदर्शन गर्दै विजयी बन्न सफल भयो।

Facebook Comments Box