सार्क कार्यक्रम समितिको ६१औँ बैठक सकियो

काठमाडौँ, ११ मङ्सिर – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) अन्तर्गत कार्यक्रम समितिको ६१औँ बैठक बुधबार श्रव्य–दृश्य (भर्चुअल) माध्यमबाट सम्पन्न भएको छ। बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव तथा समिति अध्यक्ष किरण शाक्यले सार्क सदस्य राष्ट्रबीच संवाद, सहकार्य र सामूहिक पहललाई अघि बढाउने महत्वपूर्ण क्षेत्रीय मञ्च भएको उल्लेख गरे।

सार्क सचिवालयका अनुसार महासचिव मोहम्मद गोलाम सरवरले सदस्य राष्ट्रहरूबाट प्राप्त निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै कार्यक्रम समितिको भूमिकाको महत्वबारे चर्चा गरे। उहाँले दक्षिण एसियाली मुलुकहरूको विकास र समृद्धिका साझा उद्देश्यसहित सार्कको स्थापना भएको बताउँदै सामूहिक प्रयासका माध्यमबाट धेरै उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे।

बैठकमा आगामी वर्षका लागि सार्कका विशेष निकाय र क्षेत्रीय केन्द्रहरूको बजेट तथा वार्षिक कार्यतालिकाको समीक्षा गरी अन्तिम रूप दिइयो। नेपालको अध्यक्षतामा बसेको बैठकमा बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का र नेपालका परराष्ट्र मन्त्रालयका सहसचिव, सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रका प्रमुख तथा सचिवालयका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो।

Facebook Comments Box