पूर्व इलाका प्रमुख आपागाईंसहित १० जनामाथि भ्रष्टाचार मुद्दा दायर

झापा, ९ मङ्सिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुडामणि आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले आज विशेष अदालत, काठमाडौंमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो।

राहदानी बाहकहरूको नागरिकतामा उल्लेख जन्म मिति बदनियतपूर्वक परिवर्तन गरी राहदानी जारी गराएको आरोपमा उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिअनुसार सरकारी कागजातमा अनधिकृत विवरण हेरफेर गरी राहदानी जारी गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै मुद्दा दर्ता गरिएको हो।

मुद्दामा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुडामणि आपागाईं, नायब सुब्बा रवीनकुमार राजबंशी, कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवनकुमार दाहाल समावेश छन्।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजालसहित राहदानी बाहकहरू विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुङ्गेल र बलराम महतोमाथि पनि भ्रष्टाचारको आरोप लगाइएको छ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजाय माग गरेको छ। विनोद कुँवरको राहदानीमा जन्म मिति पाँच वर्ष घटाइिएको, सिमान्त विश्वकर्माको जन्म मिति दुई वर्ष बढाइएको, गोविन्दप्रसाद ढुङ्गेलको पाँच वर्ष घटाइएको र बलराम महतोको आठ वर्ष घटाइएको विज्ञप्तिमा उल्लेख छ। यसरी बदलिएको जन्म मिति नागरिकता र राहदानीमा फरक देखिएको आयोगले जनाएको छ।

Facebook Comments Box