अवैध आयात रोकिएसँगै अण्डाको मूल्य वृद्धि

चितवन, ७ मङ्सिर – भारतीय सिमानामा कडाइ भएपछि नेपालमा अवैध रूपमा भित्रिने अण्डा रोकिएको छ । अवैध आयात रोकिएसँगै नेपाली किसानले अन्ततः अण्डाको लागत मूल्य पाउन थालेका छन् । यसको प्रत्यक्ष प्रभाव आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा ठूलो वृद्धि भएको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले किसानको फार्म–रेटलाई आधार बनाएर नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । नयाँ दरअनुसार एक्सएल (३० वटाको) प्रतिक्रेट रु ५२०, ठूलो (लार्ज) रु ५०५ र मिडियम रु ४९० कायम गरिएको छ ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यो मूल्य यसअघिको भन्दा प्रतिक्रेट रु ५५ ले बढेको हो।

भारतीय अण्डा सञ्चालनमा रोक लाग्नुका कारण मूल्य स्थिर हुँदै गएको पोखरेल बताउँछन् । भारतमा निर्वाचनका कारण सिमानामा कडाइ हुनुका साथै भारतीय बजारमै अण्डाको माग र मूल्य बढेपछि अवैध रूपमा नेपाल तस्करी गर्ने प्रवाह घटेको हो। सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा अहिले प्रतिगोटा अण्डा भारतीय रु ७.८० मा बिक्री भइरहेकाले नेपालतर्फ तस्करी गर्ने प्रलोभन घटेको छ।

उनका अनुसार अवैध अण्डा नआएपछि नेपाली किसानले प्रतिगोटा लागत मूल्य रु १६.५७ नजिकै पाउन थालेका छन्। सङ्घका अध्यक्ष पोखरेलका अनुसार जाडो याममा चिसोबाट जोगिन अण्डा सेवन गर्नुपर्छ भन्ने जनचेतना बढेसँगै बजारमा माग पनि वृद्धि हुन्छ। तीन महिनाअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ५३० पुगेकामा एक समय रु ४०० मा झरेको थियो।

पछिल्ला दिनमा भने मूल्य उक्लिँदै किसानलाई अनुकूल स्थितिमा पुगेको छ। नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने अनुमान छ। अवैध आयात रोकिएसँगै उत्पादनकर्ताले उचित मूल्य पाउने आशा व्यापारी तथा किसानले व्यक्त गरेका छन्।

Facebook Comments Box