एनपीएलमा विराटनगर किंग्सको लगातार दोस्रो जित, काठमाडौँ गोर्खाज पुनः पराजित
काठमाडौँ, ६ मङ्सिर – विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ भने काठमाडौँ गोर्खाज दोस्रो खेलमा पनि पराजित भएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले काठमाडौँलाई पाँच विकेटले पराजित गर्यो।
काठमाडौँले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा पाँच विकेटको क्षतिमा सहजै पूरा गर्यो। यसअघि विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो। काठमाडौँले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरे पनि दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले हारेको थियो।
विराटनगरका लागि मार्टिन गप्टिलले २५ रन बनाए तर शाहब आलमको बलमा जेरहार्ड इरासमसले क्याच लिएपछि आउट भए।
ओपनर जर्ज मुन्सीले ३६ रन जोडे र उनी पनि आलमकै बलमा एलबीडब्लु भए।
बसिर अहमदले १९ रन बनाउँदै क्याच आउट भए। लोकेश बम १४ रनमा करण केसीको बलमा सन्तोष यादवमार्फत आउट भए भने नरेन भट्टले २५ रन बनाएर सन्तोष यादवको बलमा करण केसीकै हातबाट क्याच आउट हुन पुगे।
शुभम रन्जाने ६ रन र सन्दीप लामिछाने ९ रनमा अविजित रहे। काठमाडौँका लागि शाहब आलमले दुई विकेट लिए। करण केसी, जेरहार्ड इरासमस र सन्तोष यादवले एक–एक विकेट हात पारे।
टस जितेर फिल्डिङ रोजेको विराटनगरका विरुद्ध पहिले ब्याटिङ गरेको काठमाडौँले ६ विकेट गुमाउँदै १३४ रनको योगफल तयार पारेको थियो। काठमाडौँका लागि आदिल आलम २५ बलमा चार चौका र दुई छक्कासहित ४८ रन बनाएर शीर्ष स्कोरर बने।
वेन चार्ल्सवर्थले ३२ रन जोडेन। सन्तोष यादवले २६ रन बनाए भने जेरहार्ड इरासमस १० रनमै रोकिए। विराटनगरका लागि मर्चेन्ड डे लाङ्गेले दुई विकेट लिए। शुभम रन्जाने, सन्दीप लामिछाने र सूर्य तामाङले एक–एक विकेट हात पारे।
शनिबारै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको थियो।
एनपीएलमा अब सोमबार दुई खेल हुनेछन्—
-
पहिलो खेल : बिहान ११:४५ बजे – जनकपुर बोल्ट्स vs विराटनगर किंग्स
-
दोस्रो खेल : अपराह्न ४:०० बजे – सुदूरपश्चिम रोयल्स vs कर्णाली याक्स

