कांग्रेसको निष्कर्ष : २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने
ललितपुर, ६ मङ्सिर – नेपाली कांग्रेसले देशको वर्तमान राजनीतिक सङ्कटको समाधान निर्वाचनमै सम्भव भएको निष्कर्ष निकाल्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।
निर्णय आज सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेको हो।
बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा संविधानको रक्षा र सुशासनका लागि उठाइएका जनआवाजलाई संस्थागत गर्ने माध्यम निर्वाचन भएको उल्लेख छ।
कांग्रेसले भयरहित निर्वाचन वातावरण बनाउन सरकारलाई शान्तिसुरक्षा मजबुत पार्न, फरार कैदीबन्दी नियन्त्रणमा ल्याउन तथा हराएका हतियार फिर्ता गराउन आग्रह गरेको छ।
कांग्रेसले भदौ २४ गते देशभर भएको अराजक घटनाप्रति कडा आपत्ति प्रकट गर्दै सो दिनको हिंसा–तोडफोडका कारण ५७ जनाको मृत्यु, सयौँ घाइते तथा सरकारी–निजी संरचनामा व्यापक क्षति पुगेको उल्लेख गरेको छ।
पार्टी कार्यालय, नेताहरूका निजी निवास, उद्योग–व्यवसाय र राज्यका प्रमुख निकायमा भएका आक्रमणलाई कांग्रेसले अराजनीतिक, आपराधिक र विध्वंसकारी करार गरेको छ।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडितलाई क्षतिपूर्ति दिलाउन र सुरक्षासम्बन्धी संरचना तत्काल पुनर्निर्माण गर्न सरकारसँग माग गरिएको छ।
कांग्रेसले प्रतिनिधिसभा विघटनलाई पहिलेदेखि असंवैधानिक ठहर गर्दै संविधानभित्रै समाधान खोज्न सकिने आफ्नो अडान दोहोर्याएको छ। प्रदर्शनरत युवाहरूको माग सम्बोधन गर्ने र शान्तिसुरक्षा कायम गर्न एक चरणमा अन्तरिम व्यवस्थाको आवश्यकता परेको स्मरण गर्दै कांग्रेसले अहिले विषय सर्वोच्च अदालतमा विचाराधीन भएकाले अन्तिम निर्णय अदालतकै हुने विश्वास व्यक्त गरेको छ।
बढ्दो उत्तेजना र अविश्वासको वातावरण शान्त पार्न सबै पक्षलाई संयमता अपनाउन कांग्रेसले आह्वान गरेको छ। शान्तिपूर्ण प्रदर्शनमा रोक, विचार अभिव्यक्तिमा बन्देज वा हिंसा भड्काउने कुनै पनि प्रयास अस्वीकार्य भएको पार्टीले स्पष्ट गरेको छ।
कांग्रेसले भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताका मागलाई वैध र स्वाभाविक भनेको छ। भदौ २३ मा १९ युवाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचारको माग राखिएको छ।
राजनीतिक सङ्कट समाधानका लागि कांग्रेसले जेनजी पुस्ता, राजनीतिक दल, नागरिक समाज, व्यवसायी, बुद्धिजीवी र सञ्चारकर्मीबीच बहुपक्षीय संवाद आवश्यक रहेको निष्कर्ष निकालेको छ।
बैठकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ। असोज २८ देखि जारी बैठकले सभापति शेरबहादुर देउवाको लिखित प्रतिवेदन अनुमोदन गर्दै उनको स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

