पौवादुङ्माका ५२५ परिवारले पाए जस्तापाताको छानो
भोजपुर, ३ मङ्सिर – नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो उपलब्ध गराएको छ। गाउँपालिकाले आफ्नै स्रोत–साधनबाट आर्थिक रूपमा कमजोर, गरिब, विपन्न तथा सामाजिक रूपमा पिछडिया परिवारलाई लक्षित गर्दै छाना फेर्ने काम अघि बढाएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार फुसको छानो हटाउने कार्यविधि बनाएर वितरण गरिएको जस्तापाताले हालसम्म ६९९ मध्ये ५२५ घरको छाना परिवर्तन भइसकेको छ। बाँकी घरहरूको छाना पनि चालु आर्थिक वर्षमै फेर्ने तयारी गाउँपालिकाले गरेको छ। यसका लागि रु एक करोड २० लाख बराबरको बोलपत्र प्रक्रिया सुरु भइसकेको भट्टराईले जानकारी दिनुभयो।
दुई आर्थिक वर्षमा गाउँपालिकाले करिब रु दुई करोड ५० लाख खर्च गरिसकेको छ। छाना फेर्ने अभियानमा छवटै वडाका गरिब, विपन्न, ज्येष्ठ नागरिक, एकल महिला र दलित समुदायका परिवारलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।
स्थानीय नागरिकलाई सुरक्षित आवासको अनुभूति दिलाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष किरण राई बताउनुहुन्छ। “नागरिकको सबैभन्दा सुरक्षित स्थान घर हो,” उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकाले वर्षौँदेखि चुहिने घरमा बस्नु परेको परिवारलाई सहजीकरण गर्दै निःशुल्क जस्तापाताको छाना वितरण गरेका हौँ।”
केन्द्र सरकारबाट आउने फुसको छानो हटाउने कार्यक्रम कटौती भएपछि गाउँपालिकाले आफ्नै नीति बनाएर अभियान अघि बढाएको अध्यक्ष राईको भनाइ छ। उपाध्यक्ष ज्योत्सना राईका अनुसार आगलागीको जोखिम कम गर्ने, मनसुनमा हुने चुहावट रोक्ने तथा हरेक वर्ष फुसको छानाबाट बस्तीमा फैलिने आगलागीजन्य क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको छ।
यसले फुसका छानामा निर्भर परिवारलाई सुरक्षित बासको अनुभूति दिलाउनुका साथै सामुदायिक वातावरणमै सुधार ल्याएको उहाँको मत छ। अभियानअनुसार वडा नं. १ श्याशिला–१३१, वडा नं. २ तिवारी भञ्याङ–७१, वडा नं. ३ च्याङ्ग्रे–१०६, वडा नं. ४ बास्तिम–१०४, वडा नं. ५ सोनादुम्का–१३२ र वडा नं. ६ ठूलोदुम्मा–१५५ गरी कुल ६९९ परिवारले जस्तापाताको छानो पाउनेछन्।

