आज बालाचतुर्दशी, छरियो शतबीज

काठमाडौं, ३ मंसिर – बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा अखण्ड दीप प्रज्वलन गर्दै रातभर जाग्राम बसेका भक्तजनले आज बिहान शतबीज छरेका छन्। दिवंगत पितृको उद्देश्यले मार्गशीर्ष कृष्ण त्रयोदशीको रात दीपदान गरी बसेपछि भोलिपल्ट चतुर्दशीको दिन बिहानै सात प्रकारका अन्न मिसाइएका शतबीज छर्ने परम्परा रहँदै आएको छ।

धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो मिसाएर तयार गरिने शतबीज पशुपति क्षेत्रका एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप, किराँतेश्वर लगायतका प्रतिष्ठानमा छर्नु धार्मिक मान्यता अनुसार अनिवार्य मानिन्छ।

शतबीज छर्दै मृगस्थलीस्थित बहिरा गणेशको छेउमा पुग्दा भक्तजनले गणेशको शिलालाई हल्का हल्लाउँदै दिवंगत आत्माले सुन्न सकून् भन्ने हेतुले उच्च स्वरमा सन्देश दिने परम्परा पनि प्रचलित छ। हरेक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशी पर्वका अवसरमा देशका विभिन्न ठाउँबाट भक्तजन पशुपतिनाथ क्षेत्र आउने गर्छन्। त्रयोदशीको बिहानैदेखि नै पशुपति क्षेत्रमा श्रद्धालुहरूको बाक्लो भीड लाग्ने गर्दछ।

Facebook Comments Box