गहुँ छर्ने समयमा किसानलाई मल अभाव

कैलाली, ३ मङ्सिर – गहुँ छर्ने उपयुक्त समय चलिरहेकाबेला कैलालीका किसान भने मल अभावका कारण चिन्तित बनेका छन्। घोडाघोडी नगरपालिका–३ की काजल चौधरी सहकारी संस्थामा मल आएको खबर सुनेपछि पटक–पटक लाइन बसिरहनुहुन्छ।

जुरपानीस्थित इभरग्रिन कृषि सहकारीमा रासायनिक मल पाउने आशामा चारभन्दा बढी पटक बिहानैदेखि लाइन बस्दा पनि उहाँको पालो अझै आएको छैन। “कति पटक आइसकेँ, मल पाउनै मुस्किल छ, लाइन बसेरै फर्किनुपर्छ,” उहाँको गुनासो छ।

उहाँजस्तै सीता चौधरी पनि पटक–पटक लाइन बसेर थाक्नुभएको छ। धेरै प्रयासपछि बल्ल एक बोरा युरिया हात परेको बताउँदै उहाँले भन्नुभयो, “एक बिघाभन्दा बढी जमिनमा गहुँ छर्न तीन बोरा डीएपी र दुई बोरा युरिया चाहिन्छ, तर सहकारीले एक बोरा मात्र दियो। एउटा बिघा छरिसके, अझै आठ कट्ठा बाँकी छ।”

घोडाघोडी नगरपालिका–१ स्थित चुरे कृषक सहकारीमा मल आउने बित्तिकै किसानको भीड लाग्ने गर्छ। निर्धारित परिमाणभन्दा बढी मल नपाइने, बिहानैदेखि लाइन बस्नुपर्ने, मल नआएको भन्दै फर्काइने जस्ता समस्याले किसान मारमा छन्। धेरै किसान मल नपाएरै गहुँ छर्न मजबुर भएका छन्।

घोडाघोडी–३ का ज्ञानु चौधरीले मल नपाएपछि समय खेर नजाओस् भनेर मलविना नै गहुँ छरिसक्नुभएको छ। उहाँले भन्नुभयो, “मलको पर्खाइ गर्दा ढिला हुने देखेर छरिदिएँ।” घोडाघोडी–८ का डम्बर विष्टले पनि त्यस्तै बाध्यतामा गहुँ रोपिसक्नुभएको छ। आज मात्रै सहकारीबाट केही मल पाए पनि अहिले किसानहरू युरिया अभावकै चिन्तामा छन्।

गहुँ छर्ने मुख्य समय बित्दै जाँदा समयमै मल नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता किसानमा बढ्दो छ। युरिया अभाव भए पनि अधिकांश किसानले डीएपी भने पाएका छन्। समयमै गहुँ नछर्दा उत्पादन घट्ने सम्भावना रहेको घोडाघोडी नगरपालिका कृषि शाखा प्रमुख जनक धामी बताउनुहुन्छ।

उहाँका अनुसार समयमा बीउ नछरिँदा बाला राम्रो नलाग्ने, बिरुवा कमजोर हुने र समग्र उत्पादन घट्ने सम्भावना रहन्छ। कैलालीमा गहुँ छर्ने समय करिब एक सातामात्र बाँकी छ। धेरै किसानले सुरुवातमै युरिया हाल्नुपर्ने धारणा राखेकाले समस्या बढेको धामी बताउनुहुन्छ। उहाँका अनुसार युरियामा पाइने नाइट्रोजन डिएपीमै १८ प्रतिशत भएकाले सुरुमा डीएपी प्रयोग गरे पुग्छ।

गहुँ रोप्ने सुरुवातमा पोटास मल प्रयोग गर्दा जरा बलियो हुने, बिरुवा स्वस्थ रहने र अंकुरण राम्रो हुने प्राविधिक सुझाव पनि उहाँले दिनुभयो। तर किसानहरू सुरुमा नै युरियाकै खोजीमा लाग्ने गरेकोले ढिलाइ भएको हो। सुदूरपश्चिमका अधिकांश स्थानीयको मुख्य पेशा कृषि भए पनि यहाँ हरेक वर्ष मल अभावको समस्या दोहोरिन्छ। किसानले डीएपी त पाउने गर्छन्, तर युरिया भने पर्याप्त पाइँदैन।

यसले हरेक वर्ष गहुँ रोपाइमा ढिलाइ हुने गर्छ। साल्ट ट्रेडिङ कर्पोरेशनले सुदूरपश्चिममा ३० प्रतिशत र कृषि सामग्री केन्द्र लिमिटेड धनगढीले ७० प्रतिशत मल वितरण गर्दै आए पनि किसानले आवश्यक परिमाणमा मल पाउन सकेका छैनन्। केन्द्रबाट आएको मलमध्ये कैलालीमा ५४ प्रतिशत, कञ्चनपुरमा ३४ प्रतिशत र बाँकी अन्य जिल्लामा वितरण हुने गरेको साल्ट ट्रेडिङ धनगढीका कार्यालय प्रमुख तेजबहादुर कुँवरले जानकारी दिनुभयो।

Facebook Comments Box