मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु
म्याग्दी, २ मङ्सिरः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र कार्य सुरु गरिएको छ। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले सोमबारदेखि करिब ६.५ किलोमिटर सडकमा कालोपत्र कार्य थालिएको हो।
कार्यालयका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईंका अनुसार दुई लेनमा ‘अक्सफाल्ट’ प्रविधिबाट कालोपत्र गरिँदै छ। “गत वर्ष मालढुङ्गा–फर्से खण्डमा पाँच दशमलव पाँच किलोमिटर कालोपत्र गरेका थियौँ,” उहाँले भन्नुभयो, “यस वर्ष बाँकी फर्से–बेनी खण्ड यही महिनाभित्र पूरा गर्ने लक्ष्यसहित निर्माण कम्पनीले मशीन र जनशक्ति परिचालन गरेको छ।”
१३ किलोमिटर लम्बाइको मालढुङ्गा–बेनी सडकमध्ये पहिरो प्रभावित तथा बेनी बजार क्षेत्रको करिब एक किलोमिटर भाग ठेक्काबाट हटाइएको छ। दुई किलोमिटर २०० मिटर ढलान भइरहेको छ। सोमबार लस्ती बजारको ५६० मिटर र लस्ती पुलदेखि केराबारीसम्मको २५० मिटर सडक एकतर्फी कालोपत्र गरिएको छ।
निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीका इञ्जिनियर जीवन चौधरीका अनुसार मंगलबार उक्त खण्डमा दुईतर्फी कालोपत्र सकेर त्यसपछि केराबारी–मिलनचोक खण्डतर्फ काम अघि बढाइनेछ। काम तीव्र बनाउन म्याग्दी र मुस्ताङ जाने सवारीसाधनलाई मालढुङ्गा–बागलुङ–रत्नेचौर–बेनी वैकल्पिक मार्गमार्फत आवतजावत गरिने व्यवस्था गरिएको छ। सडक स्तरोन्नतिको कामका लागि मङ्सिर २० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मालढुङ्गा–बेनी सडक बन्द रहने म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो।
एपेक्स–खड्का–कृष्ण जेभीले विसं २०७७ चैतमा ५२ करोड ८६ लाख रूपैयाँमा ठेक्का लिएको र विसं २०७९ भित्र काम सक्ने लक्ष्य भए पनि कोभिड–१९, बाढीपहिरो तथा निर्माण सामग्री अभावजस्ता कारण ढिलाइ भएको थियो। सहायक ठेकेदार ओमकारेश्वरले काम छोडेपछि एक वर्षअघि मुख्य ठेकेदारले पुनः जिम्मेवारी सम्हालेका थिए।
सडक स्तरोन्नतिपछि यात्रा समय छोटिने, ढुवानी तथा सार्वजनिक यातायातको भाडादर घट्ने, धुलो–हिलोको समस्या हट्ने स्थानीय मिलनचोक–७ का बाबुराम कार्की बताउनुहुन्छ। जनप्रतिनिधि, उद्योगी व्यवसायी र सरोकारवालाहरुको निरन्तर दबाबपछि कामले गति पाएको हो। म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीयबासीसहित पर्यटक र तीर्थयात्री यस सडक प्रयोग गर्छन्।
‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा खुलेको यो सडक २०६८ सालमा पहिलोपटक कालोपत्र गरिएको थियो। आयोजनाका अनुसार चालु आर्थिक वर्षमै सबै काम सक्ने लक्ष्य लिइएको छ।

