सगरमाथा चौधरी आँखा अस्पतालद्वारा निःशुल्क आँखा शिविर: तीन वर्षमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको शल्यक्रिया

सिरहा, २९ कात्तिक – नेपाल नेत्रज्योति संघको सघन प्रयासमा सगरमाथा चौधरी आँखा अस्पताल लहान र लहान नगरपालिका बीचको सहकार्यमा सञ्चालन भइरहेको आँखा जाँच शिविरले तीन वर्षमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीलाई निःशुल्क शल्यक्रिया गरेको छ।

लहान नगरपालिकाका २४ वटै वडामा आयोजित शिविरमार्फत १८,३१७ जनाको आँखा जाँच गरिएको थियो। त्यसमध्ये २,५५३ जनामा मोतियाबिन्दु पहिचान भएको शिविर प्रमुख राजकुमार यादवले जानकारी दिनुभयो। उहाँका अनुसार, तीमध्ये १,९७७ जनाको सफल शल्यक्रिया भइसकेको छ, र ५०० भन्दा बढी बिरामीलाई शीघ्र उपचारको लागि योजनाबद्ध गरिएको छ।

शिविर सञ्चालनका लागि एकजना बिरामीको उपचारमा ५,००० रूपैयाँ लागत आउँछ, जसको आधा रकम लहान नगरपालिका र आधा रकम अस्पतालले व्यहोर्छ। बिहीबार मात्र वडा नं. २४ मा गरिएको शिविरमा ३३५ जनाको आँखा जाँच गर्दा ९९ जनामा मोतियाबिन्दु फेला परेको थियो, जसलाई तुरुन्तै अस्पताल ल्याई शल्यक्रिया गरिएको छ।

नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले नगरलाई ‘मोतियाबिन्दु मुक्त’ बनाउन अभियान चलाइरहेको बताउनुभयो। “हामी नगरवासीको आँखाको स्वास्थ्यमा विशेष ध्यान दिइरहेका छौँ,” उहाँले भन्नुभयो। अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले दलित र विपन्न वर्गका नागरिकले शिविरबाट प्रत्यक्ष लाभ उठाएको र लहान नगरपालिका र अस्पतालको सहकार्यले सिरहा र सप्तरीका अन्य पालिकामा पनि आँखा रोग निवारण अभियानलाई सशक्त बनाएको उल्लेख गर्नुभयो।

सगरमाथा चौधरी आँखा अस्पतालको यो प्रयासले दलित र विपन्न समुदायका नागरिकलाई निःशुल्क आँखा उपचार र शल्यक्रिया उपलब्ध गराएर नयाँ जीवन दिएको छ। साथै, नेपाल नेत्रज्योति संघको २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्रमार्फत ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई सेवा दिइसकेको र ५३ लाख ९२ हजार २२४ जनाको शल्यक्रिया सम्पन्न भएको जानकारी दिइएको छ।

Facebook Comments Box