सुक्खायाम सुरुसँगै देशभर आगलागीमा वृद्धि

काठमाडौँ, २९ कात्तिक – सुक्खायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा आगलागीका घटनामा उल्लेखनीय वृद्धि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्र सात स्थानमा आगलागी भएको छ। मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत र कैलालीमा भएका घटनाले ठूलो मात्रामा भौतिक क्षति पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले कात्तिक २७ गते मात्रै देशभर १६ स्थानमा आगलागी दर्ता भएको उल्लेख गरेको छ। बारा र रुपन्देहीका दुई स्थानसँगै पाँचथर, झापा, मोरङ, उदयपुर, धनुषा, रौतहट, भक्तपुर, रसुवा, कास्की, स्याङजा, बाग्लुङ र हुम्लामा पनि आगलागीका कारण महत्वपूर्ण सामाग्री नष्ट भएका छन्।

यसअघि कात्तिक २८ गते ११ स्थानमा, कात्तिक २५ गते आठ स्थानमा र कात्तिक २४ गते देशभर नौ स्थानमा आगलागीका घटना रेकर्ड भएका थिए। आगलागीका धेरैजसो घटना जनचेतना अभाव र लापरवाहीका कारण भएको निष्कर्ष निकाल्दै प्राधिकरणले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

यस्तै, शुक्रबार ताप्लेजुङमा लेक लागेर तीन जना बिरामी परेका छन्। कञ्चनजङ्घा आधार शिविर जाँदै गरेका दुई जापानी नागरिक खामाचेन भन्ने स्थानमा बिरामी परेका हुन्। त्यस्तै, आधार शिविरबाट फर्किरहेका एक अमेरिकी नागरिकलाई पनि लेक लागेको छ। मोरङ, सिन्धुपाल्चोक, म्याग्दी र बर्दियामा जनावर आक्रमणबाट तीन जना घाइते भएको जानकारी पनि प्राधिकरणले दिएको छ।

Facebook Comments Box