महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

काठमाडौँ, २५ कात्तिक – कोशी प्रदेश सरकारले किरात धर्मावलम्बी महागुरु फाल्गुनन्द लिङदेनको १४१ औं जन्मजयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ। महागुरु फाल्गुनन्द लिङदेनको जन्म विसं १९४२ कात्तिक २५ गते भएको थियो। उनी किरात धर्मका महागुरु मात्र नभई समाज सुधारक पनि थिए।

समाज सुधारका लागि नीति निर्माण गरेका फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो। उनलाई सरकारले विसं २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरु फाल्गुनन्दलाई सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक र समाज सुधारकको रूपमा स्मरण गर्दै जन्मजयन्तीको अवसरमा सन्देश जारी गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र संवर्द्धनमा कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले भाषाहरूको संरक्षणका लागि संवैधानिक व्यवस्था अनुसार प्रदेशभित्र प्रयोगमा ल्याउने पनि जानकारी दिनुभयो।

Facebook Comments Box