‘हाइटेक टनेल’ खेती विस्तारका लागि दुई करोडभन्दा बढी अनुदान

पर्वत, २५ कात्तिक – कृषि उत्पादनलाई आधुनिक र व्यवसायमुखी बनाउने उद्देश्यसहित पर्वतको विहादी गाउँपालिका ‘हाइटेक टनेल खेती विस्तार अभियान’ मा जुटेको छ। यस कार्यक्रममार्फत गाउँपालिकाले तरकारी उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ।

गाउँपालिकाले सहकारी संस्था, कृषक समूह र व्यावसायिक कृषक फार्महरूबाट प्रस्ताव आह्वान गर्दै हाइटेक टनेल (आधुनिक प्रविधिबाट बेमौसमी तरकारी उत्पादन गर्न बनाइने संरचना) निर्माणका लागि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने जनाएको छ।

कृषि शाखाका अनुसार चालू आर्थिक वर्षमा गाउँपालिकाले सो कार्यक्रमका लागि रु दुई करोड २५ लाख विनियोजन गरेको छ। यसले बेमौसमी खेतीलाई निरन्तरता दिने, उत्पादनमा विविधता ल्याउने र युवालाई कृषितर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

“हामीले यस अभियानमार्फत किसानलाई प्रविधिसँग जोड्दै दिगो आम्दानीको बाटो खोल्ने प्रयास गरेका हौँ,” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले बताउनुभयो। उहाँका अनुसार टनेल खेतीले परम्परागत प्रणालीभन्दा कम लागतमा बढी उत्पादन लिन सकिने भएकाले यसले कृषि क्षेत्रमा नयाँ आयाम दिनेछ।

विहादीका धेरै किसानले पछिल्ला वर्षहरूमा साना टनेल प्रयोग गरेर राम्रो उत्पादन गरेका छन्। तर प्रविधि, पुँजी र संरचनाको अभावले हाइटेक टनेल खेती विस्तार गर्न नसकिएको किसानहरूको भनाइ छ। यही आवश्यकता महसुस गर्दै गाउँपालिकाले सहकारी, समूह र फार्महरूलाई सहभागी गराएर सामूहिक रूपमा हाइटेक टनेल निर्माणको तयारी थालेको गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिनुभयो।

“छ वटा वडा रहेको विहादीमा मौसमी र बेमौसमी दुबै प्रकारका तरकारी उत्पादनका प्रशस्त सम्भावना छन्। सयौँ किसान व्यावसायिक रूपमा कृषिमा संलग्न छन्, सडक सञ्जाल विस्तारसँगै बजारको पनि कमी छैन,” अध्यक्ष गुरुङले बताउनुभयो।

कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, समूह वा सहकारीले सूचना प्रकाशन भएको मितिबाट १५ दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्नुपर्ने छ। विशेषगरी हाइटेक टनेल खेतीमा सक्रिय समूहलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ।

यो अभियान सफल भएमा विहादी गाउँपालिकालाई ‘हाइटेक कृषि क्षेत्र’ का रूपमा चिनाउने योजना रहेको अध्यक्ष गुरुङले बताउनुभयो। स्थानीय उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना हुने र गाउँमै रोजगारीका अवसर बढ्ने अपेक्षा गरिएको छ। विहादी गाउँपालिकाले यसअघि पनि टनेल विस्तार अभियान सञ्चालन गरेको थियो। टनेलसँगै मल्चिङ प्लास्टिक, सिकेचर, स्प्रे र बीउबिजनमा समेत अनुदान दिँदै आएको गाउँपालिकाले जनाएको छ।

Facebook Comments Box